दैलेख । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको नतिजा आउने क्रम जारी छ । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखको नतिजा सार्वजनिक भएको छ । जसमा गठबन्धनले आफ्नो बर्चसो कायम गरेको छ । २ प्रतिनिधि सभा र ३ प्रदेश सभामा गठबन्धनका उम्मेदवार विजयी हुदा एक प्रदेश सभामा मात्र नेकपा एमालेले विजय हासिल गरेको छ ।
दैलेख क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट एकिकृत समाजवादीका उम्मेदवार अम्मर बहादुर थापा बिजयी भएका छन् । उनले निकट प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्मालाई पराजित गरेका हुन् ।
दैलेख १ मा गठबन्धनबाट समाजवादीका उम्मेदवार विजयी
दैलेख क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा एकीकृत सामाजवादीका उम्मेदवार अम्मर बहादुर थापा निर्वाचित भएका छन् । उनी गठबन्धनका साझा उम्मेदवार पनि हुन् । गठबन्धनका उम्मेदवार थापाले १८ हजार २५६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार शर्माले १७ हजार ४०७ मत प्राप्त गरेका छन् । उनिहरु बीचको मतान्तर ८४९ रहेको छ । यसो त थापा र शर्मा पूर्व सहकर्मी पनि हुन् । नेकपा एमालेमा लामो समयदेखि सँगै रहेका उनिहरु नेकपा एमालेमा भएको फुटका कारण दुई बिपरित धुव्रमा गएका थिए र यो आम निर्वाचनमा प्रतिस्पर्धामा थिए ।
दैलेख २ मा गठबन्धनबाट काँग्रेस उम्मेदवार विजयी
दैलेख क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार दिक्पाल शाही र नेकपा एमालेका उम्मेदवार लक्ष्मी पोखरेल मुख्य प्रतिस्पर्धामा थिए । मतगणना सकिदा नेपाली काँग्रेसका उम्मेदवार दिक्पाल शाही १५३ मतान्तरले विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार लक्ष्मी पोखरेललाई पराजित गरेका हुन् । काँग्रेस उम्मेदवार शाहीले २० हजार १५८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार पोखरेलले २० हजार ५ मत प्राप्त गरेका छन् ।
दैलेखका तिन प्रदेश सभामा काँग्रेस विजयी
दैलेख क्षेत्र नम्बर १ का दुई र क्षेत्र नम्बर २ का एक प्रदेश सभामा काँगे्रस उम्मेदवार विजयी भएका छन् । ४ प्रदेश सभा रहेको दैलेखमा तिन प्रदेश सभामा गठबन्धनबाट काँग्रेस उम्मेदवार विजयी भएका हुन् । दैलेख क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर खत्रीले नेकपा एमालेका धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् । उनले ९ हजार ४६४ मत ल्याएर निर्वाचित हुँदा पूर्व माओवादी रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका छन् । रेग्मी ०७४ मा सोही क्षेत्रबाट माओवादीबाट चुनाव जितेर प्रदेश सरकारमा नेकपाभित्रको अन्तरसंघर्षका क्रममा एमालेको कित्तामा उभिएका थिए । यद्यपि माओवादीले उनको सांसद पद खोसिदिए पनि उनी एमालेमै बसेका थिए । विजयी खत्री गठबन्धनकाका साझा उम्मेदवार हुन् ।
यस्तै, दैलेख क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा पनि नेपाली काँगे्रसका उम्मेदवार कृष्ण कुमार बिसी विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर थापालाई १ हजार ७६ मतान्तरले पराजित गरेका हुन् । काँगे्रस उम्मेदवार बिसीले १० हजार ५४४ मत पाप्त गर्दा एमाले उम्मेदवार थापाले ९ हजार ४६८ मत प्राप्त गरेका छन् ।
यता दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम भण्डारी विजयी भएका छन् । उनी २०७४ को स्थानीय निर्वाचनमा दुल्लु नगरपालिकाका मेयर पनि बनेका थिए । भण्डारीले नेकपा एमालेका उम्मेदवार तिलक रिजाललाई १ हजार ३ सय ५ मतअन्तरले पराजित गरेका हुन् । नेपाली काँग्रेसका उम्मेदवार भण्डारीले १० हजार ८०० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रिजालले ९ हजार ४९४ मत प्राप्त गरेका छन्।
नेकपा एमाले १ प्रदेश सभामा विजयी
लामो समयदेखि दैलेखमा नेकपा एमाले भारी मतले विजयी हुदै आएकोमा यसपटक भने नेकपा एमालेले एक मात्र प्रदेश सभामा चित्त बुझाएको छ । दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाह निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार शाहले गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार योगेन्द्र शाहीलाई ८४ मतान्तरले पराजित गरेका हुन् । शाहले ९ हजार ४६४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शाहीले ९ हजार ३८१ मत प्राप्त गरे । शाह र शाही पूर्व सहकर्मी पनि हुन् । योगेन्द्र शाही यसअघि नेकपा एमालेका नेता हुन् । पार्टीमा टिकट बितरणका क्रममा विवाद भएपछि उनि माओवादीमा प्रवेश गरेर दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट उम्मेदवार बनेका थिए ।
संवाददाता । बिहिबार, मङि्सर ०८, २०७९ मा प्रकाशित