गृह मन्त्रालयले सुरक्षा निकायका कर्मचारी तथा पदाधिकारीहरूलाई नियमित कामको सिलसिलामाबाहेक अन्य समयमा नेता र कूटनीतिज्ञहरूसँग भेट्न प्रतिबन्ध लगाएको छ।
भेट्नै पर्ने परिस्थितिमा पनि स्पष्ट प्रयोजन खुलाई विभागीय स्वीकृति लिएर मात्र भेट्न गृहको निर्देशन छ ।
‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनैतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनैतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन तथा विभागीय स्वीकृति लिएर मात्र गर्नु/गराउनुहुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउनुहुन अनुरोध छ,’ गृहको विज्ञप्तिमा भनिएको छ ।
निर्देशनविपरीत काम गरे कारवाही गर्ने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।
संवाददाता । बिहिबार, पुष १४, २०७९ मा प्रकाशित