Karnali Media
२०८३ भदौ १४ , आइतबार

मौसमी फ्लुका बिरामी सङ्ख्या बढ्दो



काठमाण्डौ, पुस २१ । जाडो मौसमको सुरुवातसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । कतिपय बिरामी आफूलाई गाह्रो भएपछि मात्रै अस्पताल जाने गरेका छन् भने कतिपय बिरामी घरायसी उपचार गरेर बसेका छन् ।

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, ग्रान्डी अस्पताल, ह्याम्स, ईशान, नर्भिकलगायतका अस्पतालमा जाडो मौसमसँगै रुघाखोकी, ज्वरो, दम, टाउको दुख्ने समस्या लिएर अस्पताल जाने गरेका छन् ।


सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले पहिलेको तुलनामा जाडो मौसमसँगै रुघाखोकी, ज्वरोलगायतका समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको बताए । “पहिले–पहिले रुघाखोकी लागेर आउने बिरामीको सङ्ख्या अत्यन्तै न्यून थियो,” पुनले भने, “पछिल्ला दिनमा दैनिक १५र२० जना बिरामी मौसमी फ्लुको समस्या लिएर आउने गरेका छन् ।”

यस्तै वीर अस्पतालमा पनि उच्च ज्वरो, रुघाखोकीलगायतका समस्या लिएर आउनेको सङ्ख्या बढेको छ । दैनिक एक हजार पाँच सयदेखि दुई हजारसम्म नयाँ बिरामी आउने वीरमा ५०र६० जना मौसमी फ्लुका बिरामी आउने गरेका छन् । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्लेले मौसमी फ्लुका बिरामी अझ बढी माघ, फागुन महिनामा आउने बताए। गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७९ पुस २१ गते बिहीबार