सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार आफ्नो ४३५ दिन अर्थात १४ महिने कार्यकालमा गरेका कामहरुको मेनोफष्टो सार्वजनिक गरे। पत्रकार सम्मेलन भनिएपनि उनले ‘कर्णालीबासीका नाममा सम्बोधन’ मार्फत सरकारले गरेका प्रमुख उपलब्धिहरु वाचन गरेर सुनाएका हुन् ।
बुधबार नयाँ मुख्यमन्त्रीको दाबी पेस गर्ने समय भएकाले उनले त्यसअघि नै आफ्नो कार्यकालमा भए गरेका कामहरुको विवरणबारे जानकारी गराएका हुन् । सुशासनका क्षेत्रमा महत्वपुर्ण काम गरेको दाबी गर्दै १७ किलोमिटर सडक कालोपत्रे गर्नेदेखि प्रदेश रंगशालाको ३३ प्रतिशत काम सम्पन्न गर्न सकेको उनले बताए । यद्यपि उनको चार पेज लामो सम्बोधनमा कुनै एउटा पनि रुपान्तरणकारी योजनाको सुरुवात भएको देखिएन । उनले अघिल्लो सरकारले अघि बढाएका कामहरुलाई प्राथमिकता दिएर अघि बढेको बताए ।
‘म मुख्यमन्त्री बन्नुभन्दा पहिला मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरु व्यापारीहरु भरीने थलो मात्र थिए । म आएँर सबै हटाएँ ।’ पत्रकारसँगको सवाल–जवाफमा उनले भने । आफु आएको दिनदेखि प्रदेश सरकार सुशासनको बाटोमा अघि बढेको बताएका मुख्यमन्त्री शाहीले । यतिमात्र भनेनन, आफु मुख्यमन्त्री भएको दिनदेखि प्रदेशमा सचिवहरु समेत लामो समयसम्म बस्न मानेको र अघिल्लो सरकारले सचिवहरुलाई कर्णालीमा बस्ने वातावरण सृजना नगरेको आरोप लगाए ।
नेकपा माओवादी र तत्कालिन एमाले भित्रको विद्रोही समूहका प्रकाश ज्वालाहरुको सहयोगमा मुख्यमन्त्री बनेका उनले पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्रीहरुले कोठा खोज्दैमा दिन बिताएको आरोप लगाउन भ्याए ।
उनी मुख्यमन्त्री बनेपछि भने कर्णाली प्रदेश योजना आयोग पदाधिकारी विहीन बन्यो । सत्ता पक्षकै नेताहरुले योजना आयोगलाई पुर्णता नदिएको भन्दै चर्को आलोचना गरिरहँदा पनि पदाधिकारी नियुक्ती नगरेका उनले योजना आयोगमा सुहाउने खालको मान्छे कर्णालीमा नभएको बताए । ‘योजना आयोग भनिसकेपछि अलिकति प्रदेशमो विकासे योजनाहरु पनि बनाउन जानोस्, अहि बौद्धिक खालको हुनुपर्छ ,’ उनले भने, ‘नेपालभर त थिए तर कर्णालीमा नभएकाले राख्न सकिएन् । त्यस मानेमा तपाइँहरुले मलाई धन्यवाद दिनुपर्ने हो ।’
उनले आफु सरकारमा ‘कन्टिन्यू’ भएको भए सुरुवातदेखिनै पदाधिकारी नियुक्त गरेर योजना आयोगलाई अग्रसर गराउने सोच रहेको बताए । यद्यपि राजनीतिले आफुलाई कोमामा पारेको भन्दै अब प्रतिपक्षको कुर्सीमा रहेर आवाज उठाउने बताए । साथै उनले सल्लाहकार नराखेर कर्णालीको अर्थतन्त्र बचाएको समेत बताउन भ्याए ।
उनले भने,‘तपाइँहरुले जहिले जीवन शाही विकास विरोधी भनेर समाचार लेख्नुभयो तर मैले सल्लाहकार नै नराखेर अर्थतन्त्र बचाएको कुरामा कहिलै धन्यवाद दिनुभएन नि..!’
मुख्यमन्त्री शाहीले छोटो समयमा नै देखिने गरेर केही परिवर्तनहरु भएको दाबी गरे । ‘कर्णाली समय, अवरुद्ध विकास पूर्वाधारहरुको निर्माण, ‘६ ब’ को कार्यान्वयन, सुशासन र कानुन निर्माण, स्थानीय तहसँगको समन्वयलगायतका क्षेत्रमा महत्वपूर्ण कामहरु गरेको छु,’ उनले भने ।
सम्बन्धित समाचार
कर्णालीका मुख्यमन्त्री शाहीको १४ महिने उपलब्धि : १७ किलोमिटर सडक कालोपत्रे
संवाददाता । मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित