सुर्खेत । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालमा भ्रष्टाचार काण्डमा परेका ठूला–ठूला पदका व्यक्तिलाई सर्वश्वहरणसहित जेल चलान गर्न माग गरेका छन्। विश्वका विभिन्न मुलुकमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री वा उच्च ओहोदामा रहेकाहरुलाई पनि भ्रष्टाचारको काण्डमा सर्वश्वहरणसहित जेल गएको आफूले थाहा पाएको उल्लेख गर्दै नेपालमा पनि आफूले सो कुरा देख्न चाहेको उनले बताए।
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचारको आवाज सदन, सडक, सामाजिक सञ्जाल सबैतिर सुनिए पनि कारबाही कहीँकतै नभएको भन्दै आपत्तिसमेत जनाए। प्रमुख सचेतक शाहीले भ्रष्टाचारले गर्दा युवाहरुको भविष्य बर्बाद भएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउन पनि भ्रष्टाचारीहरुमाथि कडा कारबाही हुनुपर्ने बताए।
उनले भने, ‘आज भ्रष्टाचारको फाइल अख्तियारको दराजमा धुलो लागेर थन्किएका छन्। अख्तियार दूरपयोग निवारण आयोगलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोग बनायौँ। तर अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा अनुसन्धानमै सीमित रह्यो। त्यसैले होला–ठूलाठूला भ्रष्टाचार काण्डका आवाजले सडक तातिन्छ। सदनमा सुनिन्छ। तर भ्रष्टाचारीलाई कहीँकतै कारबाही भएको देख्न, सुन्न पाइँदैन।’
सम्बन्धित निकायले देखेर पनि नदेखेजस्तै कानमा तेल हालेर, आँखामा पट्टी बाँधेर बसेको उनको भनाइ छ। उनले भने, ‘सिंगो मुलुकको भविष्य भ्रष्टाचारले गर्दा आज बर्बाद भएको छ। हामीलाई सुन्न र देख्न मन छ–अन्य देशका पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र बहालवाला प्रधानमन्त्री वा निकायवालाका उच्च ओहोदाका व्यक्तिहरुलाई भ्रष्टाचार काण्डमा सर्वश्वहरण गरी जेल गएको र कारबाही भएको जसरी नेपालमा पनि होस् म यही कामना गर्न चाहन्छु।’
संवाददाता । शनिबार, माघ ०७, २०७९ मा प्रकाशित