दैलेख । दैलेख गुराँस गाउँपालिकाले गाउँ प्रहरी भर्ना गर्ने भएको छ । पालिकाका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा चुनौती, शान्ति, सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि गाउँ प्रहरी भर्ना गरिने भएको हो ।
गुराँस गाउँ प्रहरी सञ्चालन सम्बन्धी कार्यविधि २०७९ तयार गरि माघ ११ गते बुधबार सम्पन्न हिउँदे गाउँसभाबाट समेत पारित गरेको हो । यस सम्बन्धी कार्यविधि गाउँसभाबाट पास भइसकेको भन्दै अब कार्यान्वयनमा जाने गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर ८ का वाडा अध्यक्ष एवम गाउँपालिका प्रवक्ता दीपेन्द्र ओलीका अनुसार गाउँपालिकाको शान्ति सुरक्षा कायम गर्न गुराँस गाउँ प्रहरी परिचालन हुने छन । ‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्न होस्, अथवा गाउँको शान्ति सुरक्षा कायम गर्न किन नहोस्, त्यसमा गाउँ प्रहरीले सहयोग गर्ने छन । प्रवक्ता ओलीले भने, ‘ठूला समस्या आउँदा नेपाल प्रहरी छ, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहने छ ।
सानो सानो सुरक्षा चुनौती सामना गर्नको लागि नेपाल प्रहरीलाई परिचालन गर्न पालिकाले नसक्ने भन्दै अब गाउँ प्रहरी भर्नापछि पालिकाको शान्ति सुरक्षा कायम हुने ओलीले बताए । यसैबिच, गाउँसभाबाट ३४ वटा विभिन्न ऐन र कार्यविधिहरु पास गरिएको छ । गाउँसभाबाट वन व्यवस्थापन गर्न बनेको ऐन २०७९, न्यायिक समितिको (कार्यविधि) सम्बन्धी ऐन २०७९, गुराँस कर्मचारी सेवा ऐन २०७९ पास भएको प्रवक्ता ओलीले बताए ।
गाउँपालिकाका अनुसार मदिरा नियन्त्रण सम्बन्धी कार्यविधि २०७९, राउटे समुदायलाई सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, यौनिक अल्पसंख्यकलाई सुविधा उपलब्ध बनाउने सम्बन्धी कार्यविधि र कृषि उपज संकलन केन्द्र संचालन सम्बन्धी कार्यविधि लगायतका २० वटा कार्यविधि पास गरिएको छ ।
यसअघिको सरकारले बनाएका ३४ वटा विभिन्न ऐन र कार्यविधिसहित गाउँपालिकामा ७९ वटा विभिन्न ऐन र कार्यविधि बनेको प्रवक्ता ओलीले जानकारी दिए । यसैगरी, पालिकाको गाउँसभाले वडा कार्यालय, स्वास्थ्य चौकी, र विद्यालयहरुमा अति आवश्यक कर्मचारी सेवा करारमा भर्नाको प्रक्रिया अगाडी बढाउने समेत निर्णय गरेको छ ।
साथै साविक जिविस र गाविसबाट गाउँपालिकामा समायोजन भएर सेवा करारमा लामो समय काम गरेका कर्मचारीहरुलाई यसअघिको १० औ गाउँसभाको निर्णयको प्रतिकुल नहुनेगरी व्यवस्थापन गर्न जिल्ला समन्वयलाई पत्र पठाउन कार्यपालिकालाई अख्तियारी दिइएको उनले जानकारी दिए ।
संवाददाता । बिहिबार, माघ १२, २०७९ मा प्रकाशित