सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा दोस्रो लियो जिल्ला काउन्सिल कार्यक्रम सम्पन्न । बिभिन्न लियो क्लबका प्रतिनिधिहरुको सहभागितामा लियो क्लब अफ भैरबस्थानको आयोजनामा शनिवार लियो काउन्सिल कार्यक्रम सम्पन्न भएको हो ।
यो कार्यक्रम कर्णालीमा पहिलो पटक भएको हो । देशभरका बिभिन्न लियो क्लबका प्रतिनिधिको सहभागिता रहेको लियो काउन्सिल कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुख मोहनमाया ढकालले युवाहरु परिवर्तनका संवाहक भएको इतिहासले सावित गरिसकेको बताईन् । युवाहरूको नेतृत्वमा देशमा धेरै परिवर्तन भएको बताउँदै उनले भनिन्, ‘युवाहरुको चाहना र परिवर्तनले देशको राजनीति र शिक्षा क्षेत्रमा विशेषत क्रान्ति भएको छ । अब युवाहरू आर्थिक समृद्धिमा अगाडी बढ्नुपर्छ । देशका महत्वपूर्ण विकास क्रममा युवाको अतुलनिय भूमिका रहेको छ। अहिलेको युवाको जागरण देशको भविष्यको लागि हो । जहाँ आशा भरोसा र अपेक्षा हुन्छ त्यहा केही चुनौतीपनी हुन्छ । त्यसैले हामीले सधै सकारात्मक परिवर्तनका लागि काम गर्नुपर्छ ।’
युवाहरुले गरेका काम अभिव्यक्तिले समाजमा सकारात्मक अथवा नकारात्मक कस्तो भुमिका खेल्छ भन्नेकुरामा युवाहरू सचेत हुनुपर्ने बताउँदै नगरप्रमुुख ढकालले अझैपनी पश्चिम नेपालमा धेरै समस्याहरु व्यप्त रहेकोले युवाहरुले यस्ता समस्याको समाधान र यो प्रदेशको समग्र विकासमा लाग्नुपर्ने बताईन् । पटक पटक देशमा विभिन्न क्रान्ति र परिवर्तन भएका उदाहरणहरु दिदै उनले विगतमा राजनीति आन्दोलन धेरै प्राथमिकतामा रहेकोमा तर अब देशमा आर्थिक समृद्धि आजको आवश्यकता भएकोले अबको आवश्यकता विकास र समृद्धिको भएकोले यस्ता कार्यमा नेतृत्व गर्ने शाहस युवा पुस्ताले राख्नुपर्नेमा उनले जोड दिईन् ।
कार्यक्रममा बोल्दै लियो क्लबका सुर्खेत जिल्ला प्रमुख किरण किशोर सापकोटा लियो काउन्सिल सम्पन्न गर्न सहयोग गर्ने सबैमा आभार प्रकट गर्दै । लियो क्लबका यस्ता कार्यक्रमले युवाहरुमा जागरण ल्याउने बताए । उनले भने, ‘लियो क्लबको मुख्य उदेश्य भनेको युवाहरुमा नेतृत्व सिपको विकास गर्ने र युवाहरुलाई हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने बनाउने भएकोले यस्ता कार्यक्रमले युवाहरुमा थप उर्जा पैदा गर्नेछ ।’ कार्यक्रममा बिभिन्न लियो क्लबबाट उत्कृष्ट कार्यसम्पादन गर्ने पदाधिकारीहरुलाई सम्मान पनि गरिएको थियो ।
पहिलो पटक कर्णालीमा लियो क्लब अफ भैरबस्थानको आयोजनामा कार्यक्रम गर्न पाउँदा खुसी व्यक्त गर्दै लियो क्लब अफ भैरबस्थानको अध्यक्ष सुजिता रोकायाले यो कार्यक्रमले युवाहरुमा लियो क्लबबारे सकारात्मक सन्देश गएको बताईन् ।
संवाददाता । शनिबार, माघ १४, २०७९ मा प्रकाशित