दार्चुला, २८ बैशाख । व्यास गाउँपालिका–१ भोलुङमा गएको हिमपहिरोमा बेपत्ता भएको ९ दिनपछि एक शव भेटिएको छ। बुधबार अबेर साँझ डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएको हो । योसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
व्यास गाउँपालिका–१ छाङरुमा रहेको सशस्त्र प्रहरी बल नं. ५० गुल्म र सितापुल प्रहरी चौकीबाट खटिएको सुरक्षाकर्मीहरूले बेपत्ताको खोजी गरेका थिए । यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल थापाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार फेला परेको थापाको शवलाई बिहीबार बिहान भारतीय बाटो हुँदै सदरमुकाम खलंगा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । शवको जिल्ला अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइने छ ।
वैशाख १९ गते गएको हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका थिए । ७ जनाले भागेर ज्यान बचाएका थिए। उनीहरुलाई सोही दिन प्रहरीले सकुशल उद्धार गरेको थियो। यार्सागुम्बा संकलनका लागि भोलुममा पुगेकाहरुमध्ये ५ जना हिमपहिरोमा परेका थिए ।
संवाददाता । बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित