दुर्घटनाग्रस्त मनाङ एयरका चालक चेत गुरुङ सन् १९९८ देखि उडानमा थिए । १० वर्षदेखि मनाङ एयरको हेलिकोप्टर उडाइरहेका उनी हाल उक्त एयरको उड्डयन सुरक्षा विभाग प्रमुखको जिम्मेवारीमा थिए । यो दुर्घटनासँगै देशले एक अनुभवी पाइलट गुमाएको छ ।
२०७६ वैशाख १ को नयाँ वर्षकै दिन सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा ठूलो हवाई दुर्घटना भयो । लुक्लाबाट रामेछापका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर ४० मिटर दायाँ हेलिप्याडमा रहेको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्कियो । नजिकै रहेको श्री एयरलाइन्सको हेलिकोप्टरमा पनि क्षति पुग्यो ।
यो दुर्घटनामा समिट एयरका सहचालक सुजित ढुंगाना र नेपाल प्रहरीका सहायक निरीक्षकहरू रामबहादुर ढुंगाना र रुद्रबहादुर श्रेष्ठको निधन भयो । तर उक्त दुर्घटनामा मनाङ एयरका सहचालक चेतबहादुर गुरुङ घाइते भए र बाँचे । तीन महिना अस्पतालमा उपचारपछि निको भएर उनी पुनः काममै फर्किए । तर, चार वर्षपछि उनी त्यही लुक्लाबाट फर्कन पाएनन् ।

पर्यटकलाई माउन्टेन फ्लाइट गराउन उनी सोमबार लुक्ला गएका थिए । तर मौसम नखुलेपछि उतै बास बसे । बिहानै माउन्टेन फ्लाइट पनि गरे । त्यसपछि १० बजेर ५ मिनेट जाँदा ५ मेक्सिकन पर्यटकलाई लिएर सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडे । कुहिरो लागिरहेको थियो ।

सोलु दुधकुण्ड नगरपालिका २ र लिखुपिके गाउँपालिका ५ को सीमा क्षेत्रमा पर्ने लामजुरा क्षेत्रमा पुग्दासम्म हेलिकोप्टर सम्पर्कमै थियो र काठमाडौं टावरलाई ह्याण्डओभर भइसकेको थियो । तर, १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भयो । हेलिकोप्टर लिखुपिके गाउँपालिका ५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो ।

संवाददाता । मङ्गलबार, असार २६, २०८० मा प्रकाशित