उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजार (केदारनाथधामको पैदलमार्ग सुरु हुने स्थानमा)मा बिहीबार राति खसेको पहिरोमा परेका १९ मध्ये तीनजनाको शव फेला परेको छ । मृतकमध्ये दुई नेपाली हुन्, १४ नेपाली अझै बेपत्ता छन् ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार मृतकमध्ये कालीकोटका टेकबहादुर कामीको पहिचान भएको छ, अर्का एक नेपालीको अझै सनाखत भएको छैन । पहिरोमा परेका १६ नेपालीमध्ये ११ जुम्ला र पाँच कालीकोटका रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बिहीबार राति साढे ११ बजेको पहिरोले उनीहरू बसेको होटेल नै बगाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
गत असारमा मात्र हिमाञ्चलको सिमलामा गएको पहिरोमा परी पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका– ९ टुमिबोटका एकै परिवारका तीनजनाको ज्यान गएको थियो ।
जुम्लाका एकै परिवारका सातसहित ११ जना बेपत्ता
पहिरोमा जुम्लाका एकै परिवारका सातसहित ११ जना बेपत्ता भएका भएका छन् । दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर उमाप्रसाद चतुर्वेदीले रुद्रप्रयाग प्रशासनलाई उद्धृत गर्दै नयाँ पत्रिकालाई जानकारी दिएअनुसार जुम्लाको पातारासी गाउँपालिका २ र ३ का ११ जना पहिरोमा परी बेपत्ता भएका हुन् । तीमध्ये वडा नम्बर ३ स्थायी घर भई गौरीकुण्डमा होटेल व्यवसाय गरी बसेका अमरबहादुरको परिवार पहिरोमा परेको हो ।
अमरसहित उनकी श्रीमती, तीन छोरी र दुई छोरा बेपत्ता रहेको जनाइएको छ । पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले आफ्नो पालिकाका कैयौँ नागरिक पहिरोमा बेपत्ता भएको खबर प्राप्त भएको बताइन् । ‘यहाँका धेरैजसो स्थानीय रोजगारीका सिलसिलामा भारतमा छन्, यसबारे हामी पनि बुझ्दै छौँ,’ उनले भनिन् ।
संवाददाता । शनिबार, साउन २०, २०८० मा प्रकाशित