दैलेख । दैलेखको दुल्लु नगरपालिकाले गत आर्थिक बर्षमा क्षयरोग निवारण अन्तर्गत खकार संकलनका लागि किनेको रेफ्रिजेरेटर (फ्रिज) सम्बन्धित स्वास्थ्य चौकीमा नपुगेर स्वास्थ्य शाखा प्रमुखको घरमा पुगेपछि यतीबेला दुल्लु नगरपालिकाको आलोचना भइरहेको छ ।
२०८० साउन ३० गते कर्णाली मिडियामा दुल्लुमा क्षयरोग निवारणका लागि खरिद भएको फ्रिज स्वास्थ्य शाखा प्रमुखको घरमा शिर्षकको समाचार प्रकाशित भएपछि यो घटना बाहिर आएको थियो । उक्त समाचार प्रकाशित भइसकेपछि सोही दिन बेलुका उक्त फ्रिज स्वास्थ्य शाखा प्रमुखकै निर्देशनमा दुल्लु नगरपालिका १२ को स्वास्थ्य चौकीमा लगिएको थियो । एकदिन राती दुल्लु १२ स्वास्थ्यचौकीको कोलीयामा फ्रिज राखिएपनि हाल उक्त प्रिज पुनः नगरपालिका लगिएको छ ।
बुधबार फ्रिज दुल्लु नगरपालिका पुगेपछि नगरपालिका उपप्रमुख बिना कार्की र प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपालले फ्रिज सम्बन्धित स्वास्थ्यचौकीमा नपुगेको बारेमा अन्जान रहेको बताउँदा यता स्वास्थ्य शाखा प्रमुख देब बहादुर थापाले भने आफुबाट गल्ती भएको स्विकार गरेका छन् ।
दुल्लु नगरपालिका १२ को स्वास्थ्यचौकीका लागिएको फ्रिज सम्बन्धित स्वास्थ्यचौकीमा नपुगेको जानकारी नगरपालिकामा गराउन नसक्नु आफ्नो गल्ती भएको उनले स्विकार गरेका छन् । उनले भने– ‘उक्त रेफ्रिजेरेटर (फ्रिज) दुल्लु नगरपालिकाबाट दुल्लु १२ को स्वास्थ्यचौकीको लागि लगेका हौ । दुल्लु ११ र १३ को केन्द्रमा १२ पर्ने हुँदा यसलाई उक्त स्थानमा लगेका थियौ । उक्त स्वास्थ्यचौकीमा पहिले नै २ वटा फ्रिज रहेकोले यो फ्रिज अन्य स्थानमा लग्ने भनेर फिर्ता ल्याउने क्रममा दुल्लु ११ का वडाअध्यक्ष सुरेन्द्र भण्डारीले यो हाम्रै सम्पती हो अन्यन्त्र किन लग्ने ? हाम्रै वडाको स्वास्थचौकीमा राखौँ भनेर बाटोमै झारेको र उक्त कुरा आफुले कारणबस नगरपालिकामा जानकारी गराउन नसकेको र यो म बाट गल्ती भएकै हो ।’ उनले भने । साथै उनले फ्रिज बीचबाटोमै एक घरमा रहेको स्विकार्दैै समाचारमा आइसकेपछि दुल्लु १२ को स्वास्थ्यचौकीमा पु¥याएको र पुनः नगरपालिका प्रमुख र उपप्रमुखको निर्देशनमा आवश्यकताका आधारमा वितरण गर्ने गरी नगरपालिका ल्याइएको बताए ।
यता दुल्लु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपाल दुल्लु नगरपालिका १२ को लागि पठाएको फ्रिज घरमै रहेको कुरा समाचारमा आएपछि मात्र थाहा पाएको बताउँछन् । स्वास्थ्य शाखा प्रमुखले फ्रिज आफुसंग राखेको भन्ने जानकारी नदिएकोले यो विवाद आएको उनको भनाइ छ । अहिले फ्रिज नगरपालिकामा आइसकेकोले अब आवश्यकताका आधारमा स्वास्थ्यचौकीमा फ्रिज वितरण हुने पनि उनले बताएका छन् ।
संवाददाता । बिहिबार, साउन ३२, २०८० मा प्रकाशित