गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटिएका छन् । शनिवार बिहान फेसबुकमा भावुक स्टाटस लेखेका उनी बिहानै मृत भेटिएका हुन् । उनले परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ नहुँदो रहेछ भन्दै फेसबुकमा लेखेका थिए ।
घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) किरण सापकोटाले जानकारी दिए । उनले आफू घटनास्थलतर्फ गइरहेको बताए ।
यस्तै नगरपालिका प्रमुख जिवलाल खरेलले पनि वडाध्यक्ष घिमिरे मृत भेटिएको खबर पाएको भन्दै आफू घटनास्थलतर्फ गइरहेको जानकारी दिए । ‘उहाँ झुण्डिएको अवस्थामा मृत भेटिनुभयो भन्ने खबर आएको छ,’ उनले भने, ‘म घटनास्थलतर्फ जाँदै छ । प्रहरीको टिम पनि आउँदै छ । हिजो साँझसम्म नगरपालिकाको काममा हामी सँगै थियौं । राति घरबाट निस्किनुभयो रे ! बिहान मृत भेटिएको कुरा आयो ।’
‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेनछ,’ उनले फेसबुकमा लेखेका थिए, ‘प्रिय अनितास् साथ निभाउन सकेनँ । मलाई माफ गरे । घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा !’
संवाददाता । शनिबार, भदौ ०२, २०८० मा प्रकाशित