Karnali Media
२०८३ साउन २७ , बुधबार

राउटे बस्तिमा दियालो बालेर स्वास्थ्य शिविर संचालन



दैलेख । फिरन्ते जिवनशैली बिताउँदै आएका लोपन्मुख जाति राउटे समुदायमा नेपाल प्रहरी श्रीमती संघले स्वास्थ्य शिविर संचालान गरि राउटे समुदायका व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरेको छ ।

दैलेखको भैरबी गाउँपालिका ५ कागेतडामा रहेको राउटे बस्तिमा पुगेर नेपाल प्रहरी श्रीमती संघले बुधबार स्वास्थ्य शिविर संचालन र न्यानो कपडा वितरण गरेको हो । सल्लाको दियालो बालेर उद्घाटन गरिएको यो स्वास्थ्य शिविर राउटे बस्तिमै पुगेर गरिएको पहिलो स्वास्थ्य शिविर भएको स्थानियहरुले बताएका छन् ।

स्वास्थ्य शिविरबाट राउटे बस्तिका नागरिकले स्वास्थ्य परिक्षण गरेका थिए । यस्तै राउँटे समुदायका १ सय ४१ जनालाई न्यानो कपडा समेत वितरण गरिएको छ । सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने नेपाल प्रहरी श्रीमती संघको उद्देश्य मानविय सेवा प्रदान गर्ने भएकाले राउटे समुदाय पनि समाजको हिस्सेदार समुदाय भएको हुँदा यो शिविरको आयोजना गरिएको नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरको भनाइ छ । मौसम परिवर्तन सँगै जाडो मौसमको सुरूवात भइरहेको अवस्थामा राउटे समुदायको फरक जिवनशैली र पुरा शरिर ढाक्ने लुगा कपडा नलगाउने चलनका कारण चिसोबाट बच्न न्यानो कपडा (कम्बल) समेत वितरण गरिएको अध्यक्ष कुँवरले बताईन ।

यस्तै सल्लाको दियालो बालेर कार्यक्रम उद्घाटन गर्नुको मुख्य उदेश्य पनि नकारात्मक अन्धकारलाई चिर्दै सुन्दर उज्यालो भविष्यको कामना गरिएको बताउँदै स्वास्थ्य शिविरबाट सम्पुर्ण राउटे समुदायले आजका दिनबाट बिरामी हुनासाथ स्वास्थ्य जाँच गराउनु पर्ने रहेछ भन्ने कुराको चेतना वृद्धि हुने र यस समुदायका मुखियाले स्वास्थ्य प्रति सचेत रहन सबैलाई जानकारी गराउने अपेक्षा गरिएको छ । कार्यक्रममा स्वास्थ्य शिविर आयोजनाको लागि सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रशंसा पत्र प्रदान समेत प्रदान गरिएको छ ।


निःशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ अध्यक्ष लगायत महासचिव अनुश्री पाख्रीन, केन्द्रिय कार्यसमिति सल्लाहाकार निलम कडायत, सह-कोषाध्यक्ष कमला खनाल, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष बिन्दु अधिकारी ढकाल, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल, भैरबी गाउँपालिकाका अध्यक्ष रिता कुमारी शाही, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक शुसिल सिंह राठौर, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा. अच्युत बिक्रम हमाल, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्साल लगायत सुरक्षा निकायका प्रतिनिधी, स्थानीय र संचारकर्मीको समेत सहभागिता रहेको थियो ।

तस्बिरहरूः

प्रकाशित मिति : २०८० मंसिर २७ गते बुधबार