काठमाडौँ । पश्चिम एसियाली फुटबल एसोसिएसन(वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा आज(बिहीबार) नेपालले जोर्डनको सामना गर्दै छ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९:४५ बजे सुरु हुनेछ ।
फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने अनुपस्थित रहने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्छिन् । त्यसैले वाफ च्याम्पियनसिपको फाइनलअघि नै उनी फ्रान्स फर्कने भएकी छन् ।
विश्व फुटबल महासंघ (फिफा)को नियम अनुसार, राष्ट्रिय टोलीको खेल फिफा विन्डोमा रहेको अवस्थामा मात्र खेलाडीले देशको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । वाफ च्याम्पियनसिपको फाइनलअघिको खेलमात्र फिफा विन्डोमा रहेको थियो ।
तर, वाफ च्याम्पियनसिपको फाइनल खेल भने फिफा विन्डोभन्दा बाहिर छ । त्यसैले उनी नेपालको फाइनल खेल छाडेर व्यावसायिक फुटबल खेल्न फ्रान्स फर्कनु परेको हो । जारी वाफ च्याम्पियनसिपमा सावित्राले नौ गोल गरिसकेकी छन् । उनी जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।
साम्बाले समूहगत चरणमा सिरियाविरुद्ध एक गोल, इराकविरुद्ध पाँच गोल र प्यालेस्टाइनविरुद्ध दुई गोल गरेकी थिइन् । उनले लेबननविरुद्धको सेमिफाइनल खेलमा पनि एक गोल गरेकी थिइन् । सेमिफाइनल खेलमा नेपालले लेबननलाई २-१ गोलले हराएको थियो ।
नेपाल समूह ‘बी’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । नेपालले समूहगत चरणमा तीनवटै खेल जितेको थियो । नेपालले पहिलो खेलमा सिरियालाई ४-१, इराकलाई ५-० र प्यालेस्टाइनलाई ४-० गोलले हराएको थियो ।
संवाददाता । बिहिबार, फागुन १७, २०८० मा प्रकाशित