वीरगन्ज । एसईईमा चिट चोराएको आरोपमा एक शिक्षक र नक्कली गार्ड बाराबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा देवताल गाउँपालिका–६ बर्वा घर भई कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद यादव र आदर्शकोतवाल गाउँपालिका–३ भटिनिया घर भई बारागढी गाउँपालिका–१ स्थित जनता मावि बुधगाईमा गार्डको रूपमा खटिएको विनोदप्रसाद यादव रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका शिक्षक सुरेन्द्रले मोबाईलमार्फत चिट चोराउन सहयोग गरेको र बिनोदले नक्कली गार्ड बनेर चिट चोराउन सहयोग गरेको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाईएको न्यौपानेले बताए।
संवाददाता । बिहिबार, चैत १५, २०८० मा प्रकाशित