Karnali Media
२०८३ असोज १६ , शुक्रबार

कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै यामलाल कँडेल



कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्ने भएका छन् ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न दिएको समयसिमा आज बेलुका ५ः५० बजे सकिँदैछ । सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बिचको सहमतिका आधारमा नेता कँडेलले मुख्यमन्त्री पदमा दाबी पेस गर्ने माओवादी केन्द्रका नेता कृष्णबहादुर जिसीले जानकारी दिए ।


‘आज मुख्यमन्त्री पदमा दाबी पेसका लागि माओवादी केन्द्रले नेता कँडेललाई समर्थन गर्दछ’, उनले भने,’तर मन्त्रालय बाँडफाँटमा कुरा नमिलेसम्म माओवादी सरकारमा जाँदैन ।’ उनका अनुसार माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयमा दाबी राख्दै आएको छ ।

एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईंले मन्त्रालय विभाजनमा छलफलका आधारमा गरिने बताए । ‘हामीले मुख्यमन्त्रीसहित माओवादी केन्द्रको एक मन्त्री पठाएर अहिले सानो आकारको सरकार बनाउन सुझाव दिएका छौं,’ उनले भने, ‘विश्वासको मत लिइसकेपछि सरकार बिस्तार गर्दा हुन्छ भनेका छौं ।’

प्रकाशित मिति : २०८० चैत २७ गते मंगलबार