बर्दिया । विशेषगरी घर पालुवा कुकुरमा लाग्ने क्यानिन डिस ट्याम्पर रोग वन्यजन्तुमा पुष्टि भएको छ ।
सेन्टर फर डायनामिक नेपालको सहयोग र स्वास्थ्य लाइभ मिडियाको आयोजनामा बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको एक कार्यक्रममा कुकुरबाट क्यानिन डिस ट्याम्पर रोग वन्यजन्तुमा सरेको अधिकारीहरुले बताएका छन् ।
यस अगाडी मानिसबाट जंगली हात्तिमा क्षयरोग सरेको पुष्टि भएको थियो । क्यानिन डिस ट्याम्पर वन्यजन्तुमा सरेको सम्भवत नेपालमा यो पहिलो भएको अधिकारीहरुले बताएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा आयुस महर्जनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको चितुवामा क्यानिन डिस ट्याम्पर रोग पुष्टि भएको हो । बफरजोन वरपर बाक्लो बस्ति भएको र कुकुरहरु खान चितुवा नियमीत बस्तिामा आउँदा यो अवस्था आएको हो । उनका अनुसार क्यानिन डिस ट्याम्पर एक अत्यन्त संक्रामक भाइरल रोग हो । विशेषगरी कुकुरमा यो रोग देखा पर्छ । डा महर्जनका अनुसार चितुवाले कुकुर खाँदा यो रोग सरेको देखिएको छ ।
अधिकारीहरुले बाँघमा समेत सरेको हुन सक्ने अनुमान गरेका छन् । क्यानिन डिस ट्याम्पर रोग लागेमा ५० प्रतिशत बढी मृत्यु हुने गरेको छ । क्यानिन डिस ट्याम्पर रोग कुकुरको सासप्रश्वास, पाचन प्रणाली, आँखा र छालामा असर पर्ने हुँदा कुकुर खाँदा वा उसको नजिक पर्दा वन्यजन्तुमा सहजै सर्ने गरेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा अशोक कुमार रामले वन्यजन्तु र मानिसको सम्पर्क हुनै नदिनु राम्रो भएको बताए । ७० प्रतिशत गम्भिर रोगहरु जनावरबाटै मानिसमा सरेकाले यसलाई कम गर्न अरुरी भएको उनको तर्क छ । मानिसका कारण वन्यजन्तु र वन्यजन्तुका कारण मानिस जोखिममा पर्ने अवस्था रहेको दर्शाउदै डा रामले वन्यजन्तु स्वस्थ र सुरक्षित नभएको अवस्थामा मानिसको कुनै अर्थ नहुने दाबी गरे । चितुवा र बाँघमा नयाँ रोग कुकुरबाट सरेको र यी जनावरले नै मानिसमा बढी आक्रमण हुने भएकाले रोगको जोखिम पनि त्यस्तै रहेको डा रामको भनाइ छ ।
प्रमुख डा अशोक कुमार रामले वन्यजन्तुको उपचारमा चिकित्सक जान्छौं तर, रोग मानिसमा सर्छ भन्ने सोचाइ नहुदा समस्या रहेको बताए । उनले जनचेताना सबै पक्षमा हुन आवश्यक रहेको र यस्तो कार्यक्रम नियमीत हुनुपर्ने पनि बताए ।
ठाकुरबाबा नगरपालिका आर्थिक विकास सहायता प्रमुख कलम बिष्टले स्थानीय जनप्रतिनिधिहरुमा जुनोसिस रोगबारे जानकारी नभएको बताए । जुनोसिस रोगबारे जानकारी नहुदा यसको व्यवस्थापनमा काम गर्न कठिनाई भएको उनको दाबी छ । जनप्रतिनिधिहरुलाई वान हेल्थको अवधारणा बारे पुर्ण ज्ञान हुन जरुरी भएको वडा अध्यक्ष समेत रहेको बिष्टले भने । उनले भने, वन्यजन्तु र मानिस बीचमा हुने अन्तरद्धन्द्ध मात्र नभएर भोली वन्यजन्तुबाट मानिसमा आउने र मानिसबाट वन्यजन्तुमा उत्पन्न हुन सक्ने महामारीबारे पनि सोच्नु पर्ने देखिएको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले वान हेल्थको अवधारणा लिएर अगाडी नबढे महामारिजन्य रोगसँग लड्न कठिन हुने बताइन् । उनले वन्यजन्तुका कारण मानिस ठुलो जोखिममा रहेको स्पष्ट पारिन । हरिण, बाख्रा र गाईहरु सँगसगै चर्नु अत्यन्त दुखद रहेको उनको भनाइ छ । करिडोर फरक फरक नहुदा एक आपसमा रोग सर्ने जोखिम हुन्छ पौडेलले भनिन् । उनले वन्यजन्तुलाई बस्तिमा निस्कन रोक्ने उपाय अपनाउन सबैमा अनुरोध गरिन् । भित्रै आहारा दिएर वन्यजन्तुलाई बस्तिमा निस्कन रोक्न सके महामारीबाट हदसम्म जोगिन सकिने पौडेलको बुझाइ छ ।
कार्यक्रममा डाक्टर सन्तोष दुलालले न्याप एएमआर पास भएपनि कार्यान्वयनमा आउँन नसकेकोमा चिन्ता व्यक्त गरे । एक स्वास्थ्यको अवधारणा अवलम्बन गरेर मात्रै महामारीसँग जुध्न सकिने उनको भनाइ छ । अहिले पनि विश्वमा अवैध वन्यजन्तुको चोरी सिकारी व्यापक भएकाले कुनै पनि समयमा महामारीको सामना गर्नुपर्ने उनको भनाइ छ । तथ्यांकहरुले देखाए अनुसार अनियमित माछा पालनको व्यापार प्रति वर्ष ४ दशमलब २ देखि ९ लशमलब ५ अर्ब अमेरिकी डलर सम्म हुने गरेको छ । त्यस्तै अवैध वन्यजन्तुको तस्करी विश्वमा प्रति वर्ष ७ दशमलब ८ देखि १० अर्ब अमेरिकी डलर अनुमान गरिएको छ । डा दुलाल भन्छन् वन्यजन्तुको बासस्थान र अव्यवस्थित शहरीकरणले गर्दा जैविक विविधता संरक्षण गर्न कठिन बन्दै गएको छ ।
यता शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा शेर बहादुर पुनले कुनै पनि महामारी पुन नयाँ वा पुरानै नयाँ स्वरुपमा आउँन सक्ने तर्फ संकेत गरे । उनले नयाँ नयाँ रोगहरु जनावरबाट मानिसमा सर्नेक्रम जारी रहेकाले कुनै पनि समयमा विश्वमा फेरी ठुलो महामारी देखा पर्ने बताए । उनले जुनोसिस डिजिजको समस्या अधिक भएपनि यो प्राथमिकतामा नपरेको बताए । डा पुनले भने, वन्यजन्तुको मृत्युलाई पनि गहिराइमा गएर अनुसन्धान गर्न जरुरी छ । अस्पतालहरुमा जुनोसिस डिजिजको समस्या लिएर आउँनेहरु बिस्तारै बढ्दै गएको पुनको भनाइ छ ।
सिर्जना बुढाथोकी । सोमबार, मङि्सर २४, २०८१ मा प्रकाशित