रुपन्देही । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज प्रतिवादी तर्फको बहस हुने भएको छ ।
जिल्ला अदालतमा रुपन्देहीका न्यायाधीश प्रह्लाद कुमार योगी इजलासमा बुधबार हाजिर भएका लामिछानेको बयान सकिएपछि बिहीबारबाट बहस सुरु भएको थियो । पहिलो दिन सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन् ।

आज जाहेरीकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गर्नेछन् । त्यसपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुने छ । रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ताहरु सुशिलकुमार पन्त र रमन श्रेष्ठ तथा अधिवक्ता डा.नाराणणदत्त कडेल, राजेन्द्र सेढाई, सुरज बस्नेतले बहस गर्ने छन् ।
सम्भवत आजै बहस सकिने छ र न्यायाधीश योगीले थुनछेक आदेश गर्ने छन् ।
संवाददाता । शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित