सुर्खेत । प्रदेश राजधानीको सहर वीरेन्द्रनगरदेखि पश्चिम सुर्खेतको केन्द्र बावियाचौरको दूरी केवल ४७ किलोमिटर मात्रै हो । केही अघिसम्म राजधानीको जिल्लाको पश्चिम क्षेत्र पूर्वाधार, स्वास्थ्य, शिक्षालगायतका आधारभूत कुराहरूबाट ‘अति दुर्गम’ मानिन्थ्यो । प्रदेश राजधानीसम्म पुग्न गतिलो सडक थिएन् । स्वास्थ्य र शिक्षाका लागि सदरमुकाम वीरेन्द्रनगर र कैलाली जानुपर्ने अवस्था थियो ।
अहिले पश्चिम ‘दुर्गम’ छैन । सडक पूर्वाधारले काँचुली फेरेको छ । पश्चिम सुर्खेतको तीन वटा पालिका बराहताल, पञ्चपुरी र चौकुनेका गाउँ बस्तीबाट मदन भण्डारी राजमार्ग सुदूरपश्चिमको डोटी जोडिदैंछ । सहायक सडकहरू पनि धमाधम कालोपत्रे भइरहेका छन् । बराहतालको बड्डीचौरदेखि पञ्चपुरीको बावियाचौरसम्मको १३ किलोमिटर सडक कर्णाली प्रदेश सरकारले कालोपत्रेको काम गरिरहेको छ ।
पश्चिम सुर्खेतको केन्द्र हो, पञ्चपुरी नगरपालिकाको बावियाचौर बजार । सङ्घीयतापछि जसरी समग्र पश्चिम सुर्खेतले काँचुली फेरिरहेको छ, त्यसैगरी बावियाचौरले ठूलो बजारको आकार लिँदै छ । केही वर्ष अघिसम्म माथिल्लो कर्णाली, सुदूरपश्चिमको अछाम र बाजुरा जानका लागि सुदूरपश्चिमका तराईका जिल्लाहरूबाट बर्दिया–बाँके हुँदै वीरेन्द्रनगरसम्म घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले सुदूरपश्चिमबाट लुम्बिनी हुँदै कर्णाली घुमेर आउनुपर्ने बाध्यता हटेको छ । कर्णाली चिसापानीबाट बावियाचौर हुँदै कर्णाली राजमार्ग छोएर पहाडी जिल्लामा यातायातका साधन चल्न थालेका छन् ।
‘सङ्घीयतापछि बनेका सडक पूर्वाधारले पश्चिम सुर्खेतको कायापलट गरेको छ,’ पञ्चपुरी नगरपालिकाका मेयर लालवीर भण्डारीले भने, ‘सडक पूर्वाधारका कारण पश्चिम सुर्खेत अव दुर्गम रहेन ।’ मेयर भण्डारीले भनेजस्तै गाउँ बस्ती जोड्दै अघि बढेको मदन भण्डारी राजमार्गसँगै केही रणनीतिक महत्वका सडक र स्थानीय सडकले सबै गाउँ बस्तीलाई जोडेका छन् । केहीबर्ष पहिलेसम्म पञ्चपुरी नगरपालिकाका सबै वडासम्म सडक सञ्जाल नहुँदा स्थानीयलाई सास्ती हुने गरेकोमा अहिले सबै वडाहरु सडक सञ्जालमा जोडिएका छन् ।
हाट–भोटको बाटो भनेर चिनिने सुदूरपश्चिमको अछाम जोड्ने चतुरे–दहताल हुँदै जंगलाघाट सडकको स्तरोन्नतिको काम भइरहेको छ । कर्णाली नदीमा पुल बन्दै छ । पलैँटे–जम्फुफाँट–हाँसेगाउँ सडक, कालापानी–बरैँचे सडक, चिउरी खेत–जंगाला–चलानी सडकको काम पनि तीव्र गतिमा भइरहेको छ । आँपसैनी–डाब–बरैचे सडक, रंगशाला–चतुरे सडक, प्रहरी चौकी–चौतारा सडक, चिसापानी–कुइने बाविायाचौर सडक खण्डमा कालोपत्रे भइरहेको छ ।
स्थानीय तहको दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष पुग्यो । यो अवधिमा पञ्चपुरीले सडक र अन्य पूर्वाधार निर्माणका साथै सामाजिक सेवामा पनि महत्त्वपूर्ण काम गरेको छ । मेयर भण्डारीका अनुसार तीन वर्षको अवधिमा भावरदेखि माल्फा जोड्ने झोलुङ्गे पुल, चुनेरी तालमा झोलुङ्गे पुल, लामीदमारदेखि तोक्मा जोड्ने झोलुङ्गे पुल र दुलालथाईमा झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको छ । तिखाकुना खोलामा सडक पुल निर्माणका लागि ठेक्का सम्पन्न भएको छ । यस्तै माझीगाउँ र र लामसीदमारमा ट्रस पुल निर्माण सम्पन्न भएका छन् ।
मेयर भण्डारीले आफ्नो तीन वर्षे कार्यकालमा विद्यापुरमा ५० लाख रुपैयाँको लगानीमा तरकारी संकलन केन्द्र र डेरी सञ्चालनमा ल्याइएको, शिवशक्ति धाममा एक करोड १५ लाख रुपैयाँमा सभाहल भवन, भोजनालय र गुरु आश्रम निर्माण गरिएको बताए । उनले यो अवधिमा छ वटा दुई केठो भवन, चार वटा चार कोठे विद्यालय भवन, एक ज्येष्ठ नागरिक भवन, एक अपाङ्गता भएकाहरूका लागि भन र छ वटा अन्य सार्वजनिक भवन निर्माण गरिएको जानकारी दिए ।
तीन वर्षको अवधिमा नगरपालिकाले विभिन्न सिँचाइ कुलोहरू निर्माण तथा मर्मत गरेको छ । एक करोड १० लाख रुपैयाँको लागतमा १७ सय मिटर लामो चुराफाले–समैचे सिँचाइ कुलो निर्माण, ३८ सय ८५ मिटरको पक्की सिँचाइ कुलो निर्माण गर्नुका साथै तीन वटा सिँचाइ पोखरी निर्माण गरिएको उनले जानकारी दिए ।

नगरपालिकाले बरडम्मादेखि खरालटोलसम्म दुई करोडको लागतमा छ सय मिटर तटबन्धन गर्नुका साथै जामुस्थित बागगाड खोलामा पाँच करोड ५० लाखको लागतमा तटबन्धन, गल्फाखोलामा एक करोडको लागतमा खुर्सानीबारी टोलमा ७१ लाखको लागतमा तटबन्धन निर्माण सम्पन्न गर्नुका साथै ढुंगीबजारमा तीन करोडको लागतमा तटबन्धन निर्माणको काम सुरु भएको जनाएको छ ।
नगरपालिकाले आधारभूत तह (कक्षा १–८) सम्म स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । पञ्चपुरी नगरपालिका–२ मा रहेको सूर्यप्रकाश माविमा २० कोठे पक्की भवन निर्माण गरिनुका साथै शैक्षिक गुणस्तर कार्यक्रम लागू गरिएको छ । विद्यापुरको जनता माविमा एक करोडको लागतमा भवन निर्माण गरिएको छ भने समूह प्राविमा सञ्चालित विशेष शिक्षा कार्यक्रमका लागि आवास भवन, अपाङ्गमैत्री शौचालयलगायतका संरचना निर्माण गरिएको उनले जानकारी दिए ।
नगरपालिकाले असहाय तथा अभिभावक नभएका बालबालिकाहरूलाई कक्षा १० सम्म छात्रवृत्ति दिँदै आएकोमा चालू आर्थिक वर्षदेखि कक्षा १२ सम्म पूर्ण छात्रवृत्ति दिइने जनाएको छ । नगरपालिकाले १५ शैय्याको भवन निर्माण सम्पन्न गरेर सेवा दिइरहेको छ ।
‘अहिले सबै वडाहरूबाट नसर्ने रोग तथा मानसिक रोगको स्क्रिनिङ, बिरामीहरूलाई परामर्श तथा औषधि उपचारसहितको चिकित्सकीय सेवा प्रदान गर्ने गरेका छौँ,’ मेयर भण्डारीले भने, ‘चौमासिक रुपमा सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत ग्रामीण अल्ट्रासाउण्ड तथा ल्याबसहितको सेवा प्रदान गरिरहेका छौँ ।’ नगरपालिकाले महिला स्वास्थ्य स्वयम्सेवीकाहरुलाई वार्षिक १५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिँदै आएको छ भने प्रसव सम्बन्धी जटिल बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको छ ।
नगरपालिकाले पछिल्लो तीन वर्षको अवधिमा झण्डै दुई हजार नागरिकको घरमा धारा जडान गरिएको छ । बरैचे खानेपानी आयोजनाबाट ४८१ धारा, माझीगाउँ खानेपानी आयोजनाबाट १२४, राजीधारा खानेपानी आयोजनाबाट २९६, मुरमुरी खानेपानी आयोजनाबाट ४५१, दुलालथाई माझीगाउँ चुनेरी ताल खानेपानी आयोजनाबाट ४७२ताउले खानेपानी आयोजनाबाट ४७, लाटीकाँडा खानेपानी आयोजनाबाट ४२ धारा जडान गरिएको छ ।
नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि चस्गथानीयका चौपायाहरूमा ट्याग लगाएर अभिलेख राख्ने गरेको छ । मेयर भण्डारीका अनुसार हालसम्म ४७६ घर दुरीका एक हजार १७ पशु चौपायालाई ल्याग लगाएर अभिलेखीकरण गरिएको छ ।
पञ्चपुरी नगरपालिका पयटकीय क्षेत्रले भरिपूर्ण क्षेत्र हो । यहाँको शितलगुफामा पर्यटकीय पूर्वाधार निर्माणको काम भइरहेको छ । दहतालको संरक्षण तथा पर्यटन पूर्वाधार निर्माणको काम गरिरहेको छ भने शिवधाम धार्मिक स्थलमा १०८ गौमुे द्दारा र १०८ शिवलिङ्ग स्थापना गरेको छ ।
संवाददाता । शुक्रबार, जेठ ०९, २०८२ मा प्रकाशित