काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै नाराबाजी गर्ने चार जना युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
सिंहदरवारको दक्षिण गेटअगाडि निषेधाज्ञाविरुद्ध प्रदर्शन गरिरहेका सन्देश शाही, पारस शाही, पवन मल्ल र किशोर ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूले ‘गिरिबन्धुमा ओली कहिले पक्राउ पर्छन् ?’, ‘नेपालीलाई नेपालमै निषेधाज्ञा गर्न पाइँदैन’ भन्ने नारा लगाउँदै विरोध जनाएका थिए।
सरकारले सिंहदरबार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि उक्त क्षेत्रमा कुनै पनि प्रदर्शन अनुमति बिना गर्न पाइँदैन। तर ती युवाहरूले निषेधाज्ञा उल्लंघन गर्दै खुला रूपमा नाराबाजी गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूलाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। प्रहरीका अनुसार उनीहरूमाथि शान्ति सुरक्षामा खलल पुर्याएको, निषेधाज्ञा उल्लंघन गरेको लगायतका अभियोगमा अनुसन्धान थालिएको छ।
प्रदर्शनकारीहरू भने सरकारको दमनकारी शैलीको विरोध गर्दै निषेधाज्ञा जनताको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको बताएका छन्।
संवाददाता । बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित