काठमाडौँ । आर्थिक अनियमितताको आरोप लागेपछि सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख(एसपी) ढकेन्द्र खतिवडाको जिम्मेवारी खोसिएको छ।
प्रहरी प्रधान कार्यालयको सोमबारको निर्णयअनुसार खतिवडालाई सप्तरीको जिम्मेवारीबाट हटाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। गृह मन्त्रालय प्रशासन स्रोतका अनुशार प्रहरी हेडक्वाटरबाट सोमबार नै छानबिनका लागि खतिवडालाई बागमती प्रदेश प्रहरी कार्यालयमा तानिएको जनाएको छ ।
खतिवडाको स्थानमा प्रहरी हेडक्वार्टरको युएन शाखामा कार्यरत एसपी गौतम केसीलाई सप्तरी पठाइएको छ। केसी यसअघि धादिङमा कार्यरत रहँदा गत असोजमा वर्षाका कारण झ्याप्ले खोलामा गएको पहिरोमा गाडी पुरिँदा भएको जनधनको क्षतिमा छानबिन समितिले कमजोरी औंल्याएपछि जिम्मेवारीबाट हटाइएका थिए।

खतिवडामाथि गाँजा मुद्दाका एक अभियुक्त जोगानन्द मण्डललाई पक्राउ नगर्ने सर्तमा वरिष्ठ सई विश्वनाथ साहमार्फत उनका भाइ अखिलेशसँग ४ लाख रुपैयाँ लिएको आरोप लागेको छ। मधेश प्रदेश प्रहरी कार्यालयले यो विषयमा छानबिन सुरु गरेको जनाएको छ।
संवाददाता । मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित