सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्रोत नखुलेको सुनका गरगहना तथा नगद रकमसहित एक जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ।
प्रहरीका अनुसार जेठ १८ गते अपराह्न करिब ४ बजे वीरेन्द्रनगर नगरपालिका–६ तल्लो बजारस्थित शिव इम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैयाँ तथा गरगहना धितो राखी ब्याजमा नगद रकम दिने गरेको भन्ने सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले चेकजाँच तथा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० घर भई हाल वीरेन्द्रनगर–६ बस्दै आएका ६३ वर्षीय श्याम सुन्दर अग्रवाल (बालाजी) लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट विभिन्न दरका नेपाली रुपैयाँ रु. २ लाख १९ हजार ५००, भारतीय रुपैयाँ रु. ८ लाख ११ हजार ८००, विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएको बट्टा, पोका र डिब्बा गरी १८५ थान बरामद गरेको छ। बरामद गरगहनाको अनुमानित मूल्य करिब ३ करोड रुपैयाँ रहेको बताइएको छ।
त्यसैगरी नगद रकम गन्न प्रयोग हुने मेसिन एक थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहरा ले जानकारी दिएका छन्।






संवाददाता । सोमबार, जेठ १८, २०८३ मा प्रकाशित