Karnali Media
२०८३ मंसिर २ , मंगलबार

कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको ठेक्का सम्झौता



सुर्खेत। कर्णाली प्रदेशको महत्वपूर्ण रणनीतिक सडकका रूपमा रहेको कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत खुलालु–सलिसल्ला सडकको ४१ किलोमिटर खण्ड कालोपत्रे हुने भएको छ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कर्णाली करिडोरको स्तरोन्नति तथा कालोपत्रेका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको जानकारी दिएका छन्।

बहुवर्षीय ठेक्का स्वीकृति र बजेट अभावका कारण लामो समयदेखि निर्माण कार्य अघि बढ्न नसकेको उक्त सडकखण्डमा अब कालोपत्रेसहित स्तरोन्नतिको काम अघि बढ्ने मन्त्री लम्सालले बताएका छन्।

उनका अनुसार योजनाअन्तर्गत तुम्चादेखि सलिसल्लासम्म १३ किलोमिटर, खुलालुदेखि कोटसम्म १३ किलोमिटर र भुक्काखोलादेखि पिलिचौरसम्म १५ किलोमिटर सडक स्तरोन्नति गरिनेछ।


कर्णाली प्रदेशको यातायात, पर्यटन गतिविधि र समग्र विकासका दृष्टिले महत्वपूर्ण मानिएको कर्णाली करिडोरको स्तरोन्नतिले स्थानीय नागरिकको आवागमन सहज बनाउनुका साथै क्षेत्रीय विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

‘कर्णालीका सपना, अब हाम्रो सपना’ भन्ने प्रतिबद्धतासहित कर्णाली करिडोरको निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको मन्त्री लम्सालले उल्लेख गरेका छन्

 

प्रकाशित मिति : २०८३ मंसिर २ गते मंगलबार