असाढ ७, सुर्खेत । जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा सहितको टोली निर्विरोध निर्वाचित भएको हो ।
मंगलबारका लागि तोकिएको निर्वाचनमा अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।
निर्विरोध निर्वाचितले आजै पद तथा गोपनियताको शपथ समेत लिएका छन् । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख, उपप्रमुखलगायत सबै सात पदमा निर्विरोध निर्वाचित भएका हुन् । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलु फडेरा रहेका छन् ।
त्यसैगरी, सदस्यहरूमा नेपाली काँग्रेसबाट सरिता रावत, दीप भण्डारी, कर्णबहादुर शाही र धीरबहादुर सिंह निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, नेकपा माओवादी केन्द्रबाट चुदी जाङ्मु तामाङ, कर्ण दमाईलगायत विजयी भएका छन् ।
यसअघि जिसस पदाधिकारीको निर्वाचनका लागि तीन दलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेको थियो ।
संवाददाता । मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित