असार ९ , सुर्खेत । ऐतिहासिक सुन्दरी तोप पाँच दशक पछि दैलेखको कोतगढीमा पुर्नस्थापना गरिएको छ ।
२०२८ साल अघिसम्म दैलेखको कोतगढीमा रहेको तोप २०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा आउँदा त्यहाँ सुरक्षा नहुने ठहर गरेर नेपाली सेनाको गणसगैँ सुर्खेत ल्याएको थियो ।
झन्डै ५१ वर्ष सुर्खेतमा रहेको सुन्दरी तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख लगिएसँगै पुनः नारायण नगरपालिका वडा न. १ मा रहेको कोतगढीमा राखिएको दैलेखको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले जानकारी दिएका छन् ।
कोतगढीमा राखिने तोपको संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकालाई दिएर हस्तान्तरण गरिएको नेपाली सेनाका उपरथी प्रेम शाहीले बताएका छन् । यस्ले गर्दा दैलेखको पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
२०२८ सालमा दैलेखको ऐतिहासिक कोतगढीमा राखिएका अर्गा र सुन्दरी तोप सुर्खेत पुर्याइएको थियो । सुन्दरी तोप ५१ वर्षपछि दैलेख फर्काइए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन ।
संवाददाता । बिहिबार, असार ०९, २०७९ मा प्रकाशित