असार ३२, दैलेख । दैलेखको गुराँस गाउँपालिकाले सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नेलाई कानुनि कारबाही गर्ने बताएको छ।
आज शनिबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाले असार ३० गते गाउँसभाको निर्णय अनुसार करार कर्मचारीलाई हटाउने निर्णय गरेको थियो । सोही निर्णय विरुद्ध हिजो शुक्रबार करार कर्मचारीहरुले गुराँस गाउँपालिकामा आन्दोलन गरेका थिए ।
आन्दोलनले उग्ररुप लिए पछि प्रहरिले हवाई फाएर समेत गरेको थियो । आन्दोलनमा ७ जना घाइते भएका थिए । घाइते मध्य २ जनालाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा ल्याईएको थियो ।
उक्त घटनालाई लिएर आज गुराँस गाउँपालिकाले पत्रकार सम्मेलनमा यो आन्दोलन चुनावी प्रतिशोध लिन गरेको बताएको छ । गाउँपालिकाका अध्यक्ष टोप बहादुर विसीले पालिकाले गरेका राम्रो कामको सुरुवातलाई असर पुर्याउन र चुनावमा हारको प्रतिशोध लिन आन्दोलन गरिएको बताएका छन् ।
आन्दोलनमा गुराँस गाउपालिकाको भौतिक क्षती, पालिकाको भवन तोडफोड भएको छ जसले गर्दा पालिकामा सेवा प्रवाहमा बाधा पुगेको उनको भनाई छ ।
गुराँस गाउँपालिकाको आन्तरिक श्रोतले नभ्याउने भएपछी पालिकाले करार कर्मचारी हटाउने निर्णय गरेको पालिकाका प्रवक्ता दिपेन्द्र वलिको भनाई छ ।
यस्तै,अध्यक्ष विसीले निवर्तमान अध्यक्ष खेमराज वलिले आफुसङ्ग पराजित भएपछी यस्तो आन्दोलन गरेको आरोप लगाएका छन् । उनले भने ‘कर्मचारीले हामीलाई विज्ञप्ती पेस गरेका थिए, हामी छलफलमा जान तयार थियौं तर निवर्तमान अध्यक्ष वली लगायतको समुहले राजनिती ढङ्गबाट आन्दोलनलाई चर्को रुप दिलाएर गाउँपालिकाको सार्वजनिक सम्पतिहरु अध्यक्ष, उपाध्यक्ष कार्यकक्ष, सहायता कक्ष, सभागृह तथा विश्राम केन्द्रमा समेत ढुङ्गामुढा गर्दा ठुलो क्षती पुग्नुका साथै नजिकै रहेको प्रहरीबिटमा समेत तोडफोड गरेका छन् ।’
संवाददाता । शनिबार, असार ३२, २०७९ मा प्रकाशित