८ साउन, सुर्खेत । नेपालमा हरेक वर्ष सवारी साधनहरुको आयतसँगै सवारी दुर्घटनाको सख्या बृद्धि भईरहेको विभिन्न तथ्यांकहरुले देखाउँछ । कर्णाली प्रदेशमा पनि सवारी दुर्घटनाको सख्ंया हरेक वर्ष बढ्दै गएको पाइएको छ ।
पछिल्लो तिन वटा आर्थिक वर्षको तथ्यांक हेर्दा सबै भन्दा बढी ०७८/०७९ मा ४ सय २ वटा र सबै भन्दा कम ०७६/०७७ मा २ सय ३६ सवारी दुर्घटना भएको देखिन्छ । यस्तै ०७७/०७८ मा २९१ वटा गरि जम्मा ९ सय २९ वटा सवारी दुर्घटना भएको कर्णाली प्रदेश ट्राफिक कार्यालयको तथ्यांकले देखाउछ ।
तथ्यांक अनुसार आ.ब. ०७६/०७७ भन्दा ०७७/०७८ मा ५% ले बढेको र आ.ब. ०७७/०७८ भन्दा ०७८/०७९ मा १२% बढी सवारी दुर्घटना भएको देखिन्छ । यसको मुख्य कारण आ.ब. ०७६/०७७ मा कोराना भाईरसको कारणले लकडाउनको समयमा सवारी साधन कम चलेकोले सवारी दुर्घटना कम भएको देखिन्छ ।
प्रदेशको सवारी दुर्घटनाको तथ्याङ्कलाई हेर्दा तिन वटै आर्थिक बर्षमा मानिस मृत्यु ३ सय ९२ जना, गम्भिर घाईते ७ सय १० जना, सामान्य घाईते १ हजार २०० जना भएको छ ।
कर्णाली प्रदेशमा भएका सवारी दुर्घटनाको तथ्याङ्कहरुलाई हेर्दा सवारी दुर्घटनाको कारण मानिसको मृत्यु हुने जाने, अंगभंग हुने तथा दीर्घकालीन अपाङ्गता हुने दर दिनानुदिन बढ्दै गएको पाईन्छ ।
यस्तै, तिन वटै आ.ब.मा हेर्दा सबै भन्दा बढी मोटरसाईकल, दोस्रोमा जिप कार तेस्रोमा ट्याक्टर र क्रमशः ट्रक ट्यांकर, अटो, बस, माइक्रो–फोर्स, टिप्पर दुर्घटना भएको देखिन्छ ।
दुर्घटनाको कारणहरुमा सबै भन्दा बढी तीव्र गतिको कारणले दुर्घटना भएको देखिन्छ भने क्रमशः यान्त्रिक, सडकको अवस्था र लापरवाहीको कारण, ट्राफिक नियम उल्लंघनको कारणले दुर्घटना भएको कर्णाली प्रदेश ट्राफिक कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले बताएका छन् ।
तीन वटै आ.ब.मा तीव्र गतिको कारणले ५ सय ३९ वटा दुर्घटना भएका छन् ।
यस्तै सबै भन्दा बढी सुर्खेतमा र सबै भन्दा कम हुम्लामा सवारी दुर्घटना भएको देखिन्छ । सुर्खेतमा बढी सवारी साधन चल्ने र हुम्लामा कम सवारी साधन चल्ने भएकोले सुर्खेतमा अन्य जिल्ला भन्दा बढी सवारी दुर्घटना भएको हो । संख्यात्मक हिसाबले सल्यान र दैलेख दोस्रो र तेस्रोमा रहेको प्रदेश ट्राफिक प्रमुख तिवारीको भनाई छ ।
सवारी साधनको बृद्धिसँगै सवारी व्यवस्थापन कार्यमा चुनौतीहरु पनि बढ्दै गईरहेको वर्तमान सन्दर्भमा बढ्दो सवारी साधनको संख्या, सवारी साधन माथि आम नागरीकको निर्भरता, सडक प्रयोगकर्ताको बृद्धि लगायतका कारणले व्यक्तिको जनधनको क्षति व्यहोर्नुपरेको छ ।
बढ्दो शहरीकरण, सडक प्रयोगकर्ताहरुमा ट्राफिक ज्ञानको कमी, यातायात साधनहरुको अत्याधिक वृध्दिका कारण दिनानुदिन बढ्दै गई रहेको सवारी दुर्घटनालाई न्युनिकरण गर्न अत्यावश्यक भएको छ ।
भावना राना । आइतबार, साउन ०८, २०७९ मा प्रकाशित