Karnali Media
२०८३ असार २० , शनिबार

कर्णाली प्रदेशमा आयल निगमले पेट्रोलियम भण्डारण क्षमता बढाउँदै



१६ साउन, सुर्खेत । नेपाल आयल निगमले कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने योजना अघि बढाएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म पेट्रोलियम पदार्थको भण्डारण गर्ने ट्याङ्की छैन । निगमले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भण्डारण सुविधासहितको डिपो बनाउने तयारी अघि बढाएको हो ।

हाल कर्णाली प्रदेशले पेट्रोलियम पदार्थको माग नेपालगञ्ज डिपोबाट पूर्ति गर्दै आइरहेको छ । निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले कर्णाली प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने योजना अघि बढाएको जानकारी दिए ।

उनले सुर्खेतमा भण्डारणसहितको डिपो बनेपछि प्रदेशको दैनिक माग धान्नका लागि नेपालगञ्जमा भर पर्नुपर्नेमा अवस्था अन्त्य हुने बताए । ‘अहिले नेपालगञ्जबाट ट्याङ्करमा तेल ल्याएर त्यसैबाट बिक्री गर्नुपर्ने बाध्यता छ,’ थानीले भने, ‘अब भण्डारण बनेपछि यो समस्या हट्छ ।’

थानी हालै सुर्खेत पुगेर भण्डारण ट्याङ्कीका लागि जग्गा निरीक्षण गरेर फर्किएका छन् । उनले सुर्खेतमा २÷३ स्थानमा जग्गा हेरेको बताए ।


यस्तै, निगमको प्रादेशिक प्रमुख राजकुमार केसीले हाल प्रदेशमा मट्टितेल र हवाई इन्धनको मात्रै भण्डारण रहेको जानकारी दिए । प्रदेशमा मट्टितेलको ४५ किलोलिटर र हवाई इन्धनको ६० किलोलिटर भण्डारण क्षमता छ । तर, दैनिक १ लाख लिटर डिजेल र ३० हजार लिटर पेट्रोल खपत हुने गरेकामा यी पदार्थको भण्डारण भने छैन ।

निगमले सुर्खेतमा सामुदायिक वनको क्षेत्राधिकारमा रहेको १० बिघा जग्गा लिएर डिपो बनाउने तयारी गरेको हो । सामुदायिक वनको क्षेत्राधिकारमा रहेको उक्त जग्गा अधिग्रहण गरेर डिपो बनाएमा ४२० किलोलिटर डिजेल र २१० किलोलिटर पेट्रोल भण्डारण गर्ने क्षमता बन्छ । जसले ४ दिनसम्मको डिजेलको माग र ७ दिनसम्मको पेट्रोलको माग धान्ने केसीको भनाइ छ ।

सुर्खेतमा आफ्नै भण्डारण डिपो सञ्चालनमा आएपछि नेपालगञ्जसँग आश्रित कर्णालीको पेट्रोलियम ढुवानीसमेत सहज बन्ने बताइएको छ । यसले समग्र देशकै भण्डारण क्षमता सुधार गर्ने आयल निगमले जनाएको छ । हाल नेपालमा डिजेल ५ दिन र पेट्रोल ८ दिनलाई पुग्ने भण्डारण क्षमता छ । सुर्खेतमा डिपो बनेपछि यो स्थिति केही सुधार हुने छ ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमबार