नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूलाई आफूविरुद्ध उजुरी परेको थाहा भएपछि मानसिक समस्या देखिएको बताएका छन् ।
सामाजिक सन्जाल फेसबुकमा एउटा लामो स्टाटस लेख्दै लामिछानेले अहिले आफू उपचारको क्रममा आइसोलेसनमा रहेको र छिट्टै नेपाल आउने पनि उल्लेख गरेका छन् ।
उनले सन्चारमाध्यम तथा सामाजिक सन्जलामा एकलौटी तरिकाले सत्यतथ्य नबुझी लेखिएको र आफ्नो चरित्रमा गम्भीर आँचसमेत आएको बताएका छन् । आफ्नो नाउँमा वारेन्ट जारी भएको समाचार र आफूविरुद्ध परेको जाहेरी सार्वजनिक भएकाले आफू मानसिक रुपमा विक्षिप्त भएको पनि उनले स्टाटसमा लेखेका छन् ।
यसले आफूलाई मानसिक रुपमा असर गरेको र आफू आइसोलेसनमा बसेको र चिकित्सकको सल्लाहअनुसार आफूलाई सामान्य अवस्थामा ल्याउँदै गरेको पनि उनले बताएका छन् । उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आउँदै गरेको र आफू छिट्टै नेपाल फर्किएर आफूविरुद्धको उजुरीमा डटेर प्रतिवाद गर्ने पनि उनले बताएका छन् ।
तर, उनले स्टाटसमा अहिले आफू कहाँ छु भन्ने खुलाएका छैनन्।
२१ भदौमा सन्दीपविरुद्ध एक नाबालिगले आफूलाई बारम्बार बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।
क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सन्दीप भने त्यसपछि कहाँ छन् भन्ने अहिलेसम्म खुलेको छैन ।
संवाददाता । आइतबार, असोज ०९, २०७९ मा प्रकाशित