सुर्खेत, असोज ५ । पोलियोको बिरामी फेला नपरेपनि पछिल्लो समय भाइरस खोजीका लागि वातावरणीय निगरानी गर्न थालिएको छ । मानिसमा भाइरस नदेखिएपनि वातावरणबाट सर्न सक्ने जोखिमलाई कम गर्न वातावरणीइ निगरानी थालिएको हो ।
विश्व पोलियो दिवसको पुर्व सन्ध्यामा वीरेन्द्रनगरमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा पोलियोको बिरामी नदेखिएपनि भाइरस भित्रिने सम्भावना कर्णालीमा अँझै रहेको सहभागीले बताए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का डा. पासाङ राईले कर्णालीमा भारतलगायतका देशहरुबाट मानिसहरु भित्रिने भएकाले भाइरस भित्रिने जोखिम अँझै रहेको बताए । ‘कर्णालीबाट अन्य देशमा काम गर्न जानेको संख्या धेरै छ,’ उनले भने, ‘हामी पोलियो उन्मुलनको अवस्थामा रहेपनि पोलियोको भाइरस बाहिरबाट आउने सक्ने जोखिमबाट भने मुक्त भइसकेका छैनौँ ।’
डा. राईका अनुसार पछिल्लो समय पोलियोको केस रिपोर्ट कम हुने थालेपछि वातावरणीय निगरानी गर्न विश्वभर नै सुरु भएको छ । जसअन्तर्गत ढल मिसिएको पानीबाट नमुना संकलन गरी भाइरस छ÷छैन भन्नेबारे जाँच गरिने उनले बताए । ‘विश्वका विभिन्न ठूला सहरहरुमा यसको निगरानी सुरु भएको छ,’ उनले भने, ‘मानिसमा मात्र नभई वातावरणमा पनि भाइरस हुन सक्छ भनेर यो निगरानी गर्न थालिएको हो, नेपालका पनि विभिन्न ठूला सहरहरुमा वातावरणीय निगरानी गरिएको छ ।’
वातावरणीय निगरानी गर्दा संकलन गरिएको नमुना बैंकक पठाई भाइरस जाँच गर्ने गरिएको डा. राईले बताए । दुषित पानी, दिसा, मललगायतका कारण अस्वच्छ वातावरणका कारण पोलियो लाग्ने भएको यसको भाइरस वातावरणमा पनि खोज्न लागिएको हो । कर्णालीमा पनि वातावरणीय निगरानी गर्नुपर्नेमा उनको जोड छ । ‘ठूलो जनसंख्या भएको ठाउँमा पनि निगरानी गरिन्छ,’ उनले भने, ‘कर्णालीको वीरेन्द्रनगरमा फोहोरको मात्रा पनि बढी भएकाले यहाँ पनि भाइरस भेटिन सक्ने जोखिम हुन्छ त्यसैले वातावरणीय निगरानी आवश्यक छ ।’ कार्यक्रमका सहभागीले आफ्नो बच्चाको हात अथवा खुट्टा नचलेको, हिँडडुल गर्न नसक्ने, टाउको दुख्ने, वान्ता भएको देखिएमा जाँच गर्न पनि सुझाव दिए ।
कार्यक्रममा पोलियो रोग उन्मुलनमा योगदान पु¥याएको भन्दै कर्णालीका दुई हिरोजलाई सम्मान पनि गरिएको छ । कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्का र स्वास्थ्य सेवामा लामो समय बिताई हाल सेवा निवृत्त भएका जितलाल ढकाललाई सम्मान गरिएको हो ।
यसैबीच, कर्णाली प्रदेशका दश जिल्ला मध्ये पोलियोमुक्त घोषणा हुन बाँकी दुई जिल्लालाई पनि चालु आर्थिक वर्षभित्र पोलियोमुक्त जिल्ला घोषणा गरिने भएको छ । पोलियोका बिरामी नदेखिएपनि भौगोलिक विकटताका कारण पोलियोमुक्त घोषणा गर्न ढिलाई भएको भन्दै अब चालु आवमा नै घोषणा गर्ने तयारी गरिएको हो ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रबिन खड्काले डोल्पाका तीन र हुम्लाका दुई गरी पाँच स्थानीय तह पोलियोमुक्त घोषणा भईसकेको बताए । दुबै जिल्लाका सबै स्थानीय तह पोलियोमुक्त भएपछि जिल्लालाई नै घोषणा गरिने डा. खड्काको भनाइ छ ।
पोलियोको भाइरस खोज्न वातावरणीय निगरानी
पोलियोको भाइरस खोज्न वातावरणीय निगरानी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सृजना बुढाथोकी । शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित