सुर्खेत, २१ पुस । वीरेन्द्रनगर सुर्खेतमा रहेको ‘सहिद पार्क’को गएको एक हप्तामा करिब ५ हजारले भ्रमण गरेका छन् । पछिल्लो समय सहिद पार्कमा भ्रमण गर्नेको संख्या बृद्धि हुदै गएको हो । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ मा रहेको सहिद पार्क सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ । वीरेन्द्रनगर बजारको नजिकै भएको रमणिय स्थान र सामाजिक संजालमा भाइरल भएको बाघको तस्बिरले गर्दा पछिल्लो एक हप्तामा सहिद पार्क भ्रमण गर्नेको संख्या बढेको हो ।
सहिद पार्कमा पुस १५ गते शुक्रबारका दिन मात्र २ हजार पर्यटक सहिद पार्क पुगेका थिए। यस्तै, १६ गते शनिबार १ हजार ५ सयले अवलोकन गरे । पुस १५ र शनिबार भएको कारण उक्त दिन पार्क क्षेत्र भरिभराउ भएको पार्कमा टिकट काट्दै आएका गुरु प्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार आईतबार करिब २ सय ५०, सोमबार करिब ३ सय, मंगलबार करिब ३ सय र बुधबार करिब २ सय ५० जनाले पार्कमा टिकट काटेर अवलोकन गरेको बताए । यसरी हेर्दा पछिल्लो छ दिनमा करिब ४ हजार ६ सय जनाले सहिद पार्कको भ्रमण गरेका छन् ।
किन बढे सहिद पार्कमा पर्यटक ?
यो पार्कमा धेरै जसो आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको पाईन्छ । वीरेन्द्रनगर बजारको नजिकै जंगलको छेउमा एकान्त र रमणिय ठाउँ भएकोले बनेको यो पार्क बनेको छोटो समयमा नै धेरैको रोजाईमा पर्ने गरेको छ । यसो त वीरेन्द्रनगरको उत्तरतर्फ पर्ने सहिद पार्क टिकटकका कारण चर्चामा आएको हो । कोरोना कालमै एकाएक चर्चामा आएको उक्त स्थान आन्तरिक पर्यटकहरहेको प्रमुख रोजाइ बन्न सफल भयो । यो पार्कको अवलोकन नगरेकाहरु विरलै होलान, सहिद पार्कको क्याप्सन लेख्दै टिकटक बनाउनेहरुको जमात बढेपछि अहिले यो पार्क आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्न पुगेको हो । पछिल्लो समयमा भने सामाजिक संजालमा भाइरल भएको बाघको आकृतीका कारण सहिद पार्कको चर्चा बढेको छ । बाघको स्वरुप र लगानीको बिषयलाई लिएर आइतबारदेखि सामाजिक संजालमा आलोचना सुरु भएपछि पनि यहाँ अवलोकन गर्न आउने पर्यटकको संख्या बढेको हो ।
यस्तो छ, भाइरल बाघको बास्तविकता,
सामाजिक सञ्जालमा गलत तथ्यलाई भाइरल बनाईएको सहिद पार्क रहेको भैरव सामुदायिक वनका अध्यक्ष एवं वीरेन्द्रनगर नगरपालिका–४ का वडा सदस्य अम्मरबहादुर कार्कीले टिप्पणी गरे । उनका अनुसार भाइल दुई वटा बाघमध्ये सानो बाघ वीरेन्द्रनगरको फलाँटे भन्ने ठाउँमा एक जना कालिगढले ४० हजारमा बनाएका हुन् । उनले आफैले म बनाउँछु भनेपछि वन समीतिले उनलाई बनाउने जिम्मा दिएको थियो । यद्यपि उनले बनाएको बाघको मुर्ती त्यत्ति राम्रो भएन । वन समीतिका अध्यक्ष कार्कीका अनुसार ती कालिगढले ढुङ्गा जोडेर बाघको प्रतिमा बनाएको बताए । तर उक्त बाघको प्रतिमा पार्कमा राखिएको ४–५ महिनामै भाँचियो । फेरी आएर ती कालिगढले ममर्त गरेपनि दुई महिनामै भाँचियो । त्यत्ति राम्रो नभएपछि ३५ हजार मात्रै भुक्तानी गरिएको कार्कीको भनाई छ।
भाइरल बाघको बास्तविक खर्च
बाघको मुर्ती : रु.५०,०००
कन्याको मुर्ति : रु.६०,०००
अर्को अलि मोटो खाले नयाँ बाघको मुर्तीसँगै एउटा कन्या (एक युवती) को मुर्तीको मुल्य १ लाख ११ हजार हो । पुरानो मुर्ती भाँचिएपछि अलि राम्रो खालो बाघको मुर्ती बनाउनु प¥यो र कर्णालीकै भेषमा झल्किने खालको एक युवतीको मुर्ती बनाउने निर्णय भयो । काँक्रेविहार र वीरेन्द्रनगरकै लाटीकोइलीको शिव मन्दीर बनाउने ललितपुरका कालिगढहरुसँग मुर्ती बनाउने विषयमा सम्पर्क भयो । अध्यक्ष कार्की भन्छन् ,‘ पछि उहाँहरुले ६ हजार घटाएपछि हामीले दुई वटा मुर्तीको १ लाख ५ हजार भुक्तानी गरेका छौँ । कन्या र बाघ दुबैको मुर्ती एउटै ढुङ्गाबाट बनेका हुन् । उक्त ढुङ्गा वीरेन्द्रनगरकै लाटिकोईलीको हो ।’ यद्यपि सामाजिक सञ्जालमा भने बाघको मुर्तीलाई मात्रै भाइरल बनाइएको छ । अध्यक्ष कार्कीले सम्बन्धीत निकायलाई नसोधेर नै जथाभावी रुपमा गलत सुचना सम्प्रेषण गरेको भन्दै आक्रोश पोखे । ‘उनले भने, १३ लाख भनेर भाइलर गराईयो, त्यत्रो रकमले त यहाँ पार्कको स्तोरन्नतीमा ठुलो टेवा पुग्थ्यो ।’ उनका अनुसार मुर्ती सहिद पार्क अवलोकनमा आउने पर्यटकहरुबाट उठेको टिकटको पैसाबाट बनाइएको हो । पार्कमा प्रवेश गर्नका लागि प्रति व्यक्तिले रु।२० तिर्नुपर्छ । साथै उनले बाघको मुर्ती बनाउनुको उद्देश्य ‘अवलोकन गर्न आउनेहरुले जंगलको बीचमा बाघ लगायतका जंगली जनावरहरुको प्रतिमा बनाएको भएपनि हुन्थ्यो’ भन्ने सुझाव दिएपछि बनाइएको बताए।
सम्बन्धित समाचार
वीरेन्द्रनगर ‘सहिद पार्क’ को भाइरल बाघ, यस्तो छ बास्तविकता
कसरी बन्यो सहिद पार्क ?
यो पार्क कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा ज्यान गुमाउनेहरुको नाममा बनाइएको हो । भैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर कार्कीका अनुसार आन्दोलनमा सोही वडामा दुई जना ९गोपाल रजवार, टिकाराम गौतिक० ले ज्यान गुमाएका थिए । उपयुक्त ठाउँ भएकाले वनको साधारण सभाबाट नै सहिदहरुको नाममा ‘सहिद पार्क’ बनाउने काम भएको हो । भंगेरी चौर (अहिले पार्कस्थल) मा विगतमा आवाधिक बस्ती थियो । त्यसपछि जिल्ला भु–संरक्षण कार्यालयले नर्सरी स्थापना गरेको थियो । त्यसको अवधि सकिएपछि खाली भएकाले ठाउँलाई पार्कमा रुपान्तरण गरेको उनले बताए । यो पार्कमा कर्णाली प्रदेश सरकारले झण्डै साढे ३ करोड सम्मको लगानी गरेको छ । सहिद पार्क स्थापनाका सुरुमा २ करोड रकम विनियोजन गर्यो । ०७६ भदौ महिनादेखि पार्क निर्माणको काम थालनी गरेर ०७७ भित्रै सहिद स्तम्भ, पोखरी र अन्य संरचनाहरु निर्माण गरिएको हो । त्यही रकमबाट पार्कको वरिपरी पर्खाल लगाउने काम पनि गरिएको थियो । गत आवमा ५० लाख रकम विनियोजन गरिएको थियो । त्यसबाट शौचालय लगायतका केही कामहरु भए। अहिले अन्य १ करोडको टेण्डर आह्वान गर्ने तयारी भइरहेको छ । शौचालय निर्माण, बनस्पति उद्यान लगायतका कामहरु हुने छन् । कार्कीले पार्कसँगै वनस्पति उद्यान पनि बनाइने जानकारी दिए ।
जगत सापकोटा । बिहिबार, पुष २१, २०७९ मा प्रकाशित