काठमाडौं, पुस २४ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रिवि क्याम्पस विशेष समितिले त्रिभुवन विश्वविद्यालयको लापरबाहीप्रति आपत्ति जनाएको छ।
गत वर्ष पुस २० गतेदेखि माघ ४ गतेसम्म त्रिविले लिएको स्नातक तह बिबिएस चौथो वर्षको परीक्षा प्रकाशन गर्नुको सट्टा फेरि परीक्षा लिने भनेर त्रिविले सूचित गरेकाले सो संगठनले आपत्ति जनाएको हो।
दमक बहुमुखी क्याम्पस, झापाका बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको बिजनेस रिसर्च मेथड्स विषयको सिम्बोल नं। ७०२०२०००१ देखि ७०२०२०२५२ सम्म उत्तरपुस्तिका हराएकाले त्रिविले पुनः परीक्षा लिन खोजेको सो संगठनले बताएको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
यसरी त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथि निरन्तर गम्भीर खेलबाड गरिरहे क्रान्तिकारी विद्यार्थी युनियन कडा संघर्षमा उत्रिने विज्ञप्तिमा उल्लेख छ।
‘त्रिविको यस्तो ज्यादतीविरुद्ध हाम्रो संगठन घोर विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाप्रति हाम्रो संगठन गम्भीर एवं आक्रोशित भएको छ। विद्यार्थीले परीक्षा दिएको एक वर्ष बितिसक्दा समेत परीक्षाफल प्रकाशित गर्न नसकेको त्रिविले उत्तरपुस्तिकाको सुरक्षासमेत गर्न नसकेको घटनाले त्रिवि प्रशासन पूर्ण रूपमा असफल भएको पुष्टि भएको छ।’
त्रिवि प्रशासनले गरेको गल्तीको सजाय विद्यार्थीले भोग्नुपर्ने कुरा अस्वीकार्य छ भन्दै सो संगठनका त्रिवि संयोजक गोविन्द विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन सरकारसँग विद्यार्थीहरूको भविष्य बर्बाद पार्ने गैरजिम्मेवार र अक्षम त्रिवि प्रशासनलाई कडा कारबाहीसहित दोषी कर्मचारीको राजीनामा माग गर्दछ। अन्यथा संगठन सडक मोर्चाबाट कारबाही गर्न बाध्य हुने चेतावनी दिन चाहन्छ।’
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, पुष २४, २०७९ मा प्रकाशित