झापाको गौरादहमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१९ निवासी साजन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरिएको डिएसपी खगेन्द्र रिजालले बताए । श्रीमतीले आफ्नो श्रीमानले झापामा दोस्रो विवाह गर्न खोजेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएपछि सोही उजुरीको आधारमा चौधरीलाई पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिए ।
जन्तीसहित आएका चौधरी गौरादह–२ मा एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी विवाह समारोहमा पुगेका थिए । बेहुलीका परिवारजनलाई बेहुला विवाहित रहेको जानकारी थियो कि थिएन भनेर प्रहरीले छानबिन गरिरहेको छ । पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
संवाददाता । शुक्रबार, असार ०८, २०८० मा प्रकाशित