साइकल यात्री पवनकुमार साहमाथि मुक्का प्रहार गरेको घटनामा पक्राउ परेका आयुष भेटवाल धरौटीमा छुटेका छन् ।
गत असार २० गते कोशी राजमार्गअन्तर्गत विराटनगर – ४ स्थित दूध फारम चोकमा भेटवालले साइकल यात्री साहलाई मुक्का प्रहार गरी ढालेका थिए । उक्त घटनाको भिडियो फुटेज सार्वजनिक भएपछि उनी पक्राउ परेका थिए ।
मोरङ जिल्ला अदालतले सोमबार दिएको आदेशबाट विराटनगर – ४ का १९ वर्षीय भेटवाल धरौटीमा छुटेका हुन् । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले भेटवाललाई धरौटीमा छाड्न आदेश दिएको जनाए ।
दूध फारम चोकमा भेटवालले साइकल यात्री पवनकुमार साहलाई मुक्का प्रहरा गरी बेहोस बनाएका थिए । बेहोस भएपछि साहलाई घिसार्दे सडक छेउमा लगेर छाडेका थिए ।
भेटवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दायर भएको थियो । घटनामा संलग्न भनिएका अर्का प्रतिवादी १७ वर्षे किशोर फरार छन् ।
अदालतबाट उनलाई पक्राउ गर्न ३५ दिने सूचना जारी भएको छ । कार चालक तेह्रथुमको फेदाप गाउँपालिका – ४ का ३० वर्षीय रोशन कार्कीविरुद्ध मुद्दा नचल्ने निणर्य सरकारी वकिलको कार्यालयले गरेको छ ।
संवाददाता । मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित