नेपालमा सर्पका धेरै प्रजाति पाइन्छन् । तीमध्ये १८ प्रकारका सर्प विषालु रहेको पाइएको छ । कोब्रा र करेट जातका सर्प बढी विषालु हुन्छन् । सर्प गर्मीमा जमिनभित्र बस्न सक्दैन र बाहिर निस्कने गर्दछ । यो समयमा आफ्नो आहार खोज्दै मानिस बस्ने ठाउँसम्म सर्प आइपुग्छ । विशेषगरी, किरा–मुसा भएको ठाउँमा सर्प धेरै आउने गर्छ ।
विषालु सर्पले टोकेको कसरी चिन्ने ?
विषालु सर्पले टोकेमा मल्टिपल पङ्चर र डबल पङ्चर हुन्छ । दुईवटा पङ्चर मार्क छ भने विषालु सर्पले टोकेको भनेर बुझ्नुपर्छ । एउटै मार्क छ भने त्यो सर्प विषालु हुँदैन । कहाँनेर टोक्यो, टोकाइ कस्तो किसिमको छ, त्यस आधारमा पनि छुट्याउन सकिन्छ ।
कस्तो असर पुर्याउँछ ?
विषालु सर्पको टोकाइले हाम्रो शरीरमा विभिन्न असर पुग्छ । न्युरो टक्सिट, हेमोरेजिक पोइजन, साइटो टक्सिटलगायत शरीरमा प्रवेश गर्दा विभिन्न रियाक्सन देखिन्छन् ।
न्युरो टक्सिट : यसले शरीरको नसालाई असर गर्छ । प्यारालाइसिस हुने हुन्छ । यो बढ्दै जाँदा श्वासप्रश्वासमा समस्या आउँछ र मानिसको ज्यान जान सक्छ ।
हेमोरेजिक पोइजन : रगतलाई पातलो बनाउँछ । रक्तसञ्चार बिग्रिएर शरीरको जुनसुकै भागबाट पनि रगत बग्छ ।
साइटो टक्सिट : विषालु सर्पले जहाँ टोक्यो, त्यहाँको मासु बिस्तारै सुन्निदै जान्छ । टोकेको भागमा घाउ भएर आउँछ ।
के गर्ने, के नगर्ने ?
– आत्तिनु हुँदैन, टोकेको ठाउँमा साबुनपानीले धुने, तर धेरै नचलाउने ।
– सर्पले औँला, हातमा टोकेको अवस्थामा औँठी, बाला, चुरा लगाइएको छ भने फुकाल्ने ।
– सर्पले टोकेको भागमा चक्कुले काटेर रगत बगाउने, चुस्ने, टोकेको ठाउँभन्दा माथि कपडा बाँध्ने गर्नुहुँदैन ।
– नजिकैको सर्पदंश उपचार केन्द्रमा जाने । टिटी सुई लगाउने । चिकित्सकको परामर्शअनुसार औषधि उपचार गर्ने । उपचार केन्द्रमा एन्टिस्नेक भेनम नामक विष मार्ने सुई लगाउने । जथाभावी औषधि उपचार नगर्ने ।
– कस्तो सर्पले टोकेको हो भनेर निक्र्योल गर्न सकियो भने उपचार सहज हुन्छ । आफूसँग मोबाइल छ र सकिन्छ भने फोटो खिच्ने ।
– सर्पको बिगबिगी हुने ठाउँमा नजाने । झाडीमा जानुपर्दा बुट, हातमा पन्जासहित सुरक्षाका सामग्री प्रयोग गरेर मात्रै जाने ।
संवाददाता । मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित