प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा तीन करोड १९ लाख १६ हजार आठ सय रुपैयाँ भेटी संकलन भएको हो ।
नोट- दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का- सटहीबाट आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार चार सय तीन र भेटीबापतको भारु १० लाख ८४ हजार तीन सय संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने दुई करोड १४ लाख रुपैयाँ भेटी संकलन भएको थियो । उनले समितिको कोषमा सात करोड ८८ लाख १० हजार दुई सय पाँच रुपैयाँ जम्मा रहेको जानकारी दिए । पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जनाए । समितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा संकलन भएको छ ।
भेटीबाट संकलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन, फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ । समितिले संकलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्याङ्की बनाउने निर्णय पनि गरेको छ ।
समितिका अनुसार पदमार्गमा फाइवरको छहारी लगाउने कार्य तीन हजार सात सय ९४ मिटर उचाइको मन्दिर क्षेत्रबाट सुरु गरी माथिल्लो फेदीतर्फ विस्तार गर्दै लगिएको छ । समितिले अहिले उक्त कार्यका लागि लागत अनुमान तयारीसहितको प्रारम्भिक कार्य अघि बढाएको छ । फाइबरको छहारी लगाउन तीन करोड ५० लाख हाराहारी रकम खर्च हुने अनुमान गरिएको छ ।
तीर्थालुका लागि सबैभन्दा कठिन बाटो भनेकै माथिल्लो फेदीबाट मन्दिरसम्म पुग्नु हो । माथिल्लो फेदीबाट मन्दिरसम्मको दूरीमा सबैभन्दा बढी हिउँ र पानीको प्रभाव देखिने भएकाले यो क्षेत्रमा फाइबरको छहारी बनेमा तीर्थालुका लागि धेरै सहज हुने पाथीभरा क्षेत्र विकास समितिको बुझाइ छ । अहिले पाथीभरा क्षेत्रमै बास बसेर बिहान मन्दिरको दर्शन गर्न जाने केहीबाहेक अधिकांश माथिल्लो फेदीमा रहने गर्छन् । माथिल्लो फेदीबाट मन्दिरतर्फ भन्दा काफ्लेपाटीबाट माथिल्लो फेदीसम्म हिउँ र पानीको प्रभाव कम हुने गरेकाले तीर्थालुका लागि यो पदमार्ग छिचोल्न निकै सहज मानिन्छ ।
संवाददाता । मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित