चितवनको नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका २ बसमा ६५ जना यात्रु सवार रहेको पुष्टि भएको छ।
जिल्ला प्रशासन कार्यालयले ती दुवै बसमा रहेका यात्रुको विवरण सार्वजनिक गरेको हो।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा चलानमा भए बमोजिम २७ जना र त्यसबाहेक आफन्तजनले सम्पर्कमा आएर विवरण दिएका आधारमा ११ जना गरी ३८ जना रहेको खुलेको छ।
त्यस्तै काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स नामको बसमा चलानमा भए बमोजिम २३ जना र आफन्तजनले सम्पर्कमा आएर विवरण दिएका आधारमा ४ जना गरी २७ जनाको विवरण छ।
६५ जनामध्ये तीन जना दुर्घटनामा बच्न सफल भएका छन्। सोमबारसम्म नारायणी नदीमा १४ जनाको शव फेला परे पनि ८ जनाको मात्रै सनाखत भएको छ। अझै ६ वटा शवको सनाखत गर्न बाँकी रहेको तर उनीहरु पनि सोही बसमा सवार यात्रु रहेको प्रशासनको अनुमान छ।
बेपत्ता खोजीका लागि ५ सय जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
गत शुक्रबार बिहान साढे ३ बजे पहिरोले बगाएर खसेका दुइटा बस तीन दिन बित्दा पनि फेला पर्न सकेका छैनन्। बस र बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीले ड्रोन, वाटर ड्रोन, सोनार क्यामरा, राफ्ट बोट, ठूलो चुम्बक लगायत प्रयोग गरिरहेका छन्।
यी हुन् बसमा सवार यात्रु
संवाददाता । मङ्गलबार, साउन ०१, २०८१ मा प्रकाशित