आज तीज राेइरहेछ
ए आमा!
ए दिदी, बहिनी!
ए माइल्दाजु र साइल्दाजु!
हाम्रो तीज आयाे
र सँगसँगै विगतका दिनहरुको याद पनि आयो।
तिमीहरु कहाँ छाै?
हाम्रो त्यो आँगनीले तिम्रो बाटाे कुरिरहेछ।
अनि घरीमै पहेँलो भएको केराले तिमीलाई नै
क्षितिजसम्मै कता देखिन्छौ भनेर हेरिरहेछ।
दही जमाउने ठेकीमा ढुसी माैलिएकाे छ,
मदानीमा माकुराले बस्ती बसाएको छ।
आँगनीमा बिछ्याइएको गुन्द्री सडिसकेकाे, मक्किइसकेको छ।
बाबा त कहिले कहिले,
माइल्दाजु पनि उहिल्यै जानुभएको।
आमा, दिदी, बहिनी र साइल्दाजु पनि
उतै डेरा सरिसक्नुभो।
तपाईंहरु उतै तीज मनाउनुहुन्छ हाेला।
यता हाम्रो तीज भने निरस छ,
बेस्वाद र बिरानो पनि छ।
यता भएका चेलिबेटी
दर खान बोलाएनन् भन्दै गुनासो गरिरहेछन्।
आज भएकाहरु दर खान काेही सम्झिदैनन्।
तल्लो घरका राम प्रसाद दाजु जानुभएकै थियो
नाैलाघरी जेठान, पुराना घरका रत्न प्रसाद कान्छा दाइ
नायक दाइ र जाेतिष पनि उतै जानुभयाे।
बाँडीचुँडी खाने सबै गएपछि
सम्झिनेहरु सबै सकिएपछि
हाम्रो गाउँ आजभोलि चकमन्न छ।
सबै आआफ्नाे धुनमा हिँडिरहेका छन्,
समाज एकलकाँटे भएको छ।
काेही कसैलाई साेधपुछ गर्दैन,
कोही कसैलाई हेर्दैन,
कोही कसैलाई टेर्दैन।
भएकाहरु तीज मनाउन हाेटल हाेटलमा मस्त छन्,
पार्टी प्यालेस र रेष्टुरेन्टमा व्यस्त छन्।
आज हाम्रो तीजकाे राैनक बदलिएको छ,
डिजे र रिमिक्सले मौलिक तीज गीत ओझेलमा छन्,
भाइचारा र सामाजिक सम्बन्ध हराएको छ,
आत्मीयता र सामिप्यता लोप भएको छ।
ए तीज!
तिमी किन यसरी पश्चिमी संस्कारमा भासियाेै?
ठाउँ थलाे उहीँ भए पनि किन भाखा बदल्यौ?
बजार बजारमा किन रुमल्लियौ?
पश्चिमाको जादूमा किन अल्मलियौ?
तडकभडक र सम्पत्ति देखाउनैपर्ने?
ठेकीकाे दही र घरीको केराको ठाउँमा
पिज्जासँग बियरकाे बोत्तल फोर्नैपर्ने?
ए तीज!
आफ्नो संस्कार र संस्कृति छाेडेर
तिमी कहाँ जाँदैछौ?
हाम्रा सन्तान र भावी पुस्तालाई
बलात् तिमी कहाँ लाँदैछौ?
तिमी सच्चिऊ तीज, तिमी सच्चिऊ!
होटेल, रेस्टुरेण्ट र पार्टी प्यालेसबाट
पुनः आफ्नै पुरानो आँगनीमा फर्किऊ!
त्यो आँगनीले तिम्रै बाटो हेरिरहेको छ
त्यो टोलले तिमीलाई नै कुरिरहेको छ।
गणेश प्रसाद उपाध्याय । सोमबार, भदौ २४, २०८१ मा प्रकाशित