कोहलपुर। नेपाल प्रहरी कल्याण कोषद्वारा निर्मित पेट्रोल पम्पको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उद्घाटन गर्दै कल्याण कोषको भूमिका, उद्देश्य तथा योजनाबारे जानकारी गराएका थिए।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्की, कोहलपुर नगर का.ब. प्रमुख विरेन्द्र कुमार शाह, लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी कल्याणकारी कोष २०५२ सालमा स्थापना भएयता सेवा मुलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। कोषको प्रमुख खर्च स्वास्थ्य सेवा, राहत, उद्धार, परामर्श, सचेतना कार्यक्रम तथा खेलकुद लगायतका क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै उनले प्रहरी परिवारका सदस्यहरूको हकहितका लागि प्रहरी संगठन सधैं प्रतिबद्ध रहेको बताए।

उनले नेपाल प्रहरी न केवल कानून कार्यान्वयनमा केन्द्रित रहने, बरु बहालवाला, सेवा निवृत्त, अशक्त प्रहरी कर्मचारी तथा तिनका परिवारका सदस्यहरूको स्वास्थ्य, शिक्षा, आर्थिक अवस्था सुधार र समग्र हकहितका लागि निरन्तर क्रियाशील रहेको बताए।
संवाददाता । मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित