शनिबार दिउँसो दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बाँसगडीमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
तुलसीपुर–७ निवासी ६५ वर्षीया गौमती रोका आइतबार कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएकी हुन्।
उनलाई बाटोमा हिँडिरहेको अवस्थामा रा.५ प २६७८ नम्बरको मोटरसाइकलले शनिबार दिउँसो साढे २ बजेतिर ठक्कर दिएको थियो। उक्त मोटरसाइकल एक १६ वर्षीय किशोरले चलाएका थिए भने पछाडि १४ वर्षीय अर्का किशोर सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएकी गौमती रोकालाई प्रारम्भिक उपचारपछि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो। तर उपचारको क्रममा आइतबार उनको मृत्यु भयो।
मोटरसाइकल चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) थिएन। प्रहरीका अनुसार, मोटरसाइकल सवारीधनी तुलसीपुर–७ की मिना भुसाल रहेको पुष्टि भएको छ।

लाइसेन्स नभएको व्यक्तिलाई सवारी चलाउन दिएको अभियोगमा मिना भुसाललाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीका अनुसार, “अरूले गल्ती नदोहोर्याउन भनेर सवारीधनीलाई नियन्त्रणमा लिइएको हो। आफ्नो मान्छे भनेर लाइसेन्स नभएकालाई सवारी दिएर दुर्घटना गराएमा त्यसको जिम्मेवारी सवारीधनीकै हुन्छ।”
जिल्ला अदालत दाङले आइतबार सवारीधनी मिना भुसाललाई पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गर्न आदेश दिएको छ।
प्रहरीका अनुसार, मोटरसाइकलमा सवार किशोरहरू सामान्य घाइते छन्। दुर्घटनाको विषयमा अनुसन्धान जारी छ।
संवाददाता । सोमबार, साउन १९, २०८२ मा प्रकाशित