Karnali Media
२०८३ भदौ ३० , मंगलबार

विनोद शाही हत्या प्रकरणः मेयर चलाउनेसहित ७ जना पक्राउ



१९ असार, अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन्।

विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित सात जना प्रकाउ परेका हुन् ।

यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा हिजो (शनिबार) चलाउनेसहित थप दुई जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले जानकारी दिए ।


उनका अनुसार हिजो पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन्। चलाउने कांग्रेसबाट निर्वाचित मेयर हुन्।

यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ। केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेश गर्ने जनाएको छ।

विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए। उनको हत्या गरिएको भन्दै परिवारले मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन् । यस्तै उक्त घटनाको विरोधमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र विप्लव नेतृत्वको नेकपाले अछाममा आज र भोलि सवारीसाधन बन्द गराएको छ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतबार