५ भदौ, दैलेख। जिल्ला प्रशासन कार्यालय दैलेखले आज नागरिकतामा अपमानजनक नाम भएका दुई जनाको नाम सच्याएर नागरिकताको प्रतिलिपी दिएको छ।
नागरिकतामा ‘कुकुर कामी’ नाम उल्लेख गरिएका दैलेखले भगवतीमाई गाउँपालिका –३ मेहेतोलीका कविराम कामिले आज जिल्ला प्रशासन कार्यालय दैलेखबाट आफ्नै नामको नागरिकताको प्रतिलिपी पाएका छन्।
असार २३ गते जिल्ला प्रशासन कार्यालयहरुलाई नागरिकताको अपमानजनक नाम सच्चाउन गृह मन्त्रालयले निर्देशन दिएको थियो । सोही निर्देशनको आधारमा वडाको सिफारिस, प्रहरी प्रतिवेदन, घरपरिवारको सनाखत, लगायतका प्रमाणको आधारमा आईतबार नाम सच्याएर नयाँ नागरिकताको प्रतिलिपी दिएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए।
यस्तै आजै नागरिकतामा ‘ठगी कामी’ नाम भएका कर्ण बहादुर नेपालीले पनि आफ्नै नामको नागरिकता प्रतिलिपी पाएका छन् । नागरिकतामा भएको नामले उनका छोराछोरीलाई बिद्यालयमा गिज्याउने र छोराछोरी बिद्यालयमा नै नजाने समस्या भएकोले प्रक्रिया पूरा गरि उनको नाम ‘ठगी कामी’ बाट सच्याएर कर्ण बहादुर कामी नाम राखी नागरिकताको प्रतिलिपी दिएको दैलेखका प्रमुख जिल्ला अधिकारीले कर्णाली मिडियालाई बताए।
उनका अनुसार पुरानो नामबाट लिएका अन्य प्रमाणपत्र छोराछोरीका विभिन्न प्रमाणपत्रहरु सच्याउनको लागि प्रशासनले दुबै नाम गरेका व्यक्ति एउटै हुन र नागरिकता टोलीले बनाउने बेला नागरिकतामा सम्मानजनक नाम नभएकोले सच्याएर प्रतिलिपी दिईएको छ भनी सिफारिस बनाईदिने र क्रमशः सबैबाट नाम परिवर्तन गर्दै जाने बताए।
संवाददाता । आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित