सुर्खेत । कालीकोटमा लोपोन्मुख रैथाने बाली संरक्षण गर्न किसान जुटेका छन् । रैथाने बालीको माग बढ्न थालेपछि उनीहरु संरक्षणमा जुटेका हुन् ।
कालिकोटमा पाइने रैथाने बाली चिनु, कागुनु, फापर, कोदो, जौलगायतका बाली अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा किसान जुटेका छन् ।
झण्डै दुई दशक पहिले जिल्लामा उल्लेख्य रूपमा ती बाली उत्पादन हुने गर्दथ्यो । यसवर्ष एक रोपनी जग्गामा चिनुखेती गरेको खाँडाचक्र नगरपालिका– ११ स्थानीय जीवन गिरीले जानकारी दिए । परीक्षणका रूपमा यो वर्ष एक रोपनी जग्गामा खेती गरिएको उहाँको भनाइ छ । स्थानीय सरकारले पनि रैथाने बाली संरक्षणका लागि पहल थालेको छ । लोपोन्मुख रैथाने बाली संरक्षणका लागि नगरले आफ्ना नीति तथा कार्यक्रममै समेटेको तिलागुफा नगरपालिकाका मेयर शङ्करप्रसाद उपाध्यायले बताए । नगरभित्र उत्पादित रैथाने बाली नगरले नै खरिद गरी बजारीकरण गर्ने उनले बताए ।
रैथाने बाली संरक्षणका लागि गाउँपालिकाले पनि विभिन्न कार्यक्रम सुरु गरेको पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले जानकारी दिए । पलाँता क्षेत्रमा कोदो, चिनु, कागुनु, फापर, सिमी र आलु उत्पादन हुने र यी बालीलाई अब जिल्ला बाहिर निर्यात गर्ने तयारी भइरहेको पनि उनले बताए।
संवाददाता । आइतबार, भदौ २६, २०७९ मा प्रकाशित