सुर्खेत, असोज ५ । कर्णाली राजमार्गमा यात्रुहरुले सधै समस्या भोग्ने गरेका छन् । त्यसमा पनि राजमार्ग साघुरो, हिलाम्य र खाल्डाखुल्डीका बर्षायाममा यात्रुले थप सास्ती खेप्दै आएका छन् । तर राजमार्गमा बर्खा र पहिरो गएका बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने भए पनि राजमार्ग स्तरोन्नतिका लागि राज्यको ध्यान पुग्न नसकेको कर्णालीवासीको गुनासो छ ।
यो राजमार्गमा हुने सडक दुर्घटनाले वर्षेनी धेरै यात्रुको मृत्यु समेत हुने गरेको छ । कालिकोटको पाचँलझरना गाउँपालिकाका स्थानीय मदन कठायतले कालोपत्रे गरिएको भए पनि साँघुरो र खाल्डा खुल्डीले गर्दा दुर्घटनाको जोखिम उच्च रहेको भन्दै त्यसमा राज्यले छिट्टै ध्यानदिनुपर्ने बताए ।
सामान्यतया एक दिनको यो बाटो पार गर्न वर्षातको बेला सुर्खेत पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुहरुको भनाइ छ । वर्षातमा दैलेख र कालिकोट क्षेत्रका दर्जनौं स्थानमा सडक अवरुद्ध भइ सवारी जाममा पर्ने गरेका छन् ।
हुम्लाका कृष्ण बोहोराले पनि कर्णाली राजमार्ग र कर्णाली कडिरोडमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य भएको बताएका छन् । उनले सडक गुणस्तरीय र दिगो रुपमा स्तरोन्ती गर्न आग्रह गरे ।
राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ । राजमार्ग अन्तर्गत दैलेख खण्डको सियाँला, जाक्सी, राकम कर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ ।
दैलेखको आठविस नगरपालिका प्रमुख तर्क बहादुर बडुवालले बजेट अभावका बाभजुत पनि नगरपालिका भित्र पर्ने राजमार्गको स्तरउन्तिमा लागि परेको भनाई छ ।
कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको कालोपत्रे वर्षदिनसम्म पनि टिक्दैन । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडक खण्ड २ सय ३२ किलोमिटर छ । त्यसमध्ये एक सय ३२ किलोमिटर सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ ।
सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले प्रत्येक वर्ष दर्जनौं ठाउँमा पहिरो गए पनि पन्छाउने गरेको भन्दै, राजमार्ग सिङ्गल लेन र भिरालो हुदा सडक समयमै मर्मत गर्ने समस्या हुने गरेको बताउछन् ।
यता, प्रदेश सरकारले भने आफ्नो कर्णाली राजमार्ग आफ्नो माताहातमा नपर्ने भन्दै पन्छिने गरेको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले सरकारले राजमार्ग सूधारका लागी केन्द्र सरकारलाई समन्वय गर्दै आएको बताए ।
संवाददाता । बुधबार, असोज ०५, २०७९ मा प्रकाशित