दैलेख । दैलेखमा गएको ३ बर्षमा १ सय ३४ जनाले आत्महत्या गरेका छन् । आर्थिक बर्ष २०७९/०८० को पहिलो चौमासिकमा मात्रै १२ जनाले आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार आर्थिक बर्ष २०७७/०७८ मा ६२ जना, आर्थिक बर्ष २०७८/७९ मा ५९ जना साथै आर्थिक बर्ष २०७९/०८० को पहिलो चोमासिकमा १२ र मंसिर महिनामा १ गरी १ सय ३४ जनाले आत्महत्या गरेका हुन् । तीन बर्षको तथ्यांक हेर्दा सबैभन्दा धेरै करीब ७७ प्रतिशतले झुण्डिएर आत्महत्या गरेको पाईएको छ ।
आर्थिक बर्ष २०७७/०७८ मा जिल्लामा ६२ जनाले आत्महत्या गरेकोमा ४८ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् । यस्तै ७ जनाले बिष सेवन गरेर, १ जनाले धारीलो हतियार प्रयोग गरेर, १ जनाले भिरबाट हाम फालेर अत्महत्या गरेका हुन् । यस्तै ६ जनाको आतमहत्या दुरुत्साहनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक भूवनेश्वर प्रसाद शाहले बताए । उनका अनुसार २०७८/०७९ मा ५९ जनाले आत्महत्या गरेकोमा ४४ जनाले झुण्डिएर, १० जनाले बिष सेवन गरेर, धारिलो हतियारको प्रयोग र भिरबाट हाम फालेर १–१ जनाले आत्महत्या गरेको साथै ३ जनाको आत्महत्या दुरुत्साहनबाट मृत्यु भएको हो । आर्थिक बर्ष २०७९/८० को पहिलो चौमासिकमा १२ जना र मंसिरमा १ जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।
यसरी हेर्दा दैलेखमा तीन बर्षमा आत्महत्या गर्नेको दर थोरै अंकमा घट्दै गएको देखिन्छ। यसो त आत्महत्या रोकथाम विश्वभरी नै एउटा प्रमुख चुनौतीको रुपमा रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुुसार प्रत्येक बर्ष करिब ८ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ । दैलेखमा आतमहत्या रोकथाम तथा न्यूनिकरणका लागि बिभिन्न तहबाट प्रयासहरु भईरहेका पनि छन् । जिल्ला प्रहरी कार्यालय दैलेखले सामुदायिक प्रहरी साझेदारी मार्फत १ हजार ७२ वटा कार्यक्रम गरेको छ । जसले गर्दा पनि धेरै जसो अपराधहरु कम भएका छन् । यसै कार्यक्रम मार्फत जिल्लाका बिभिन्न ठाँउमा महिला तथा बालबालिका सम्बन्धि कार्यक्रम मात्रै करिब पाँच सय जति भएका छन् । जसमा आत्महत्या न्यूनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम पनि भएको र यसले पनि आत्महत्या न्यूनिकरणमा सहयोग पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।
समस्याको चिन्ता गर्ने होईन, सकारात्मक चिन्तन गर्ने हो : डिएसपि शाह
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपि भूवनेश्वर प्रसाद शाहले आत्महत्या न्यूनिकरणका लागि थुप्रै प्रयास गर्दा पनि केही मात्रामा मात्र कमि आउनु सन्तोषजनक नभएको बताए । उनले भने, ‘आत्महत्या भनेको मानसिक अवस्था हो । मनोवल कमजोर हुदा आत्महत्या बढ्दै गएका छन् । यसको न्यूनिकरणका लागि बिशेषतः सचेतनाका कार्यक्रमहरु प्रभावकारी बनाउनुपर्ने हुन्छ । सानो–सानो बिषयमा पनि आवेषमा आएर आत्महत्या हुने गरेको पाईएको छ । वालविवाह, बहुविवाह, हिंसा, सामाजिक अवस्था, आर्थिक अवस्था आत्महत्या हुने मुख्य कारण हुन् । यी सबै मानसिक स्वास्थ्य तथा मनोवलसंग जोडिने भएको हुदा यसको न्यूनिकरणका लागि मनोवललाई उच्च पार्ने कुरामा जोड दिनुपर्छ ।’ जिवनमा धेरै समस्या आउँछन् । यस्ता समस्याको चिन्ता नगरी सकारात्मक चिन्तन गर्नुपर्ने बताउँदै डिएसपि शाहले आफुलाई अरुसँग नकारात्मक रुपमा तुलना गर्नाले पनि आत्महत्या हुने गरेको बताए । दैलेखमा भएका धेरैजसो आत्महत्याको मुख्य कारण बालविवाह भएको उनको भनाई छ ।
सामाजिक, आर्थिक, घरेलु हिंसा, मानसिक तनाव, वालविवाह जस्ता कारणहरुले आत्महत्या निम्ताउने गर्दछन् । यसको न्यूनिकरणमा आमनागरिक र सरोकारवाला सबैले महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ ।
जगत सापकोटा । सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित