छ महिना किरा र छ महिना ढुसीको रूपमा रहने बहुमूल्य जीवन बुटीको नामले चिनिने यार्सागुम्बा बेचेर मुगुका स्थानीयहरूले आफ्ना गाउँघरमा करोडौँ रकम भित्र्याएका छन्।
जिल्लाका मुगुम कार्मारोङ्ग गाउँपालिका, छायाँनाथ रारा नगरपालिका र सोरु गाउँपालिकाका स्थानीयहरूले यार्सागुम्बा बेचेर करोडौँ रकम गाउँमा भित्र्याएका हुन्।गत जेठ ५ गते मुगुका २ दर्जन बढी पाटनहरूमा यार्सा संकलनका लागी मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश अनुमति खुल्ला गरेको थियो।
मुगुका पाटन तथा हिमालहरूमा यार्सा टिप्न मुगुका स्थानीयका साथै यो वर्ष दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, कालीकोट, हुम्ला, मनाङ, मुस्ताङ, बाजुराबाट पनि आएका यार्सा संकलन छोर्तेन लामाले बताए।
जेठ ५ देखि असार ५ सम्म यार्सा टिप्न गाउँपालिकाले समय तोकेको थियो। त्यो समयमा पानी र हिउँ परेकाले सोचेजस्तो यार्सा टिप्न नपाएपनि असार पाँचपछि मौसममा सुधार आउँदा पुनः धेरै यार्सा पाएको लामाले बताए।
छायाँनाथ रारा नगरपालिका वडा नं १२ का स्थानीय कम्बर ऐडीले यार्सा टिप्न पाटन गएका आफ्ना भाइ(बुहारीले मात्र २५ दिनमा यार्सा बेचेर साढे ४ लाख कमाएको बताए। गाउँभरिका यार्सा टिप्न जानेले कम्तीमा २ लाखभन्दा कम कसैले नल्याएको र यो हिसाबले आफ्नो लुम्स गाउँमा मात्र ३० देखि ५० लाखसम्म रकम भित्रिएको हुनसक्ने पनि उनको अनुमान छ।
छायाँनाथ रारा नगरपालिका वडा नं १२ शोभा गाउँका स्थानीय गणेशबहादुर सावतअनुसार यार्सा बेचेर गाउँमा गाउँलेहरूले १ करोड बढी रुपैयाँ भित्राएका छन्। मुगुवासीहरू वर्षभरिको खर्च त्यही एक महिनामा यार्सा टिपेर बेचेको पैसाबाट गर्दै आएका छन्।व्यापार, खेतीपाती र नोकरीभन्दा महिना दिनभित्रमा यार्सा टिपेर राम्रो आम्दानी हुने भएपछि यो सिजनमा सबै काम थाती राखेर यार्सा टिप्न गाउँघर खाली हुने गर्छ।
यार्सा व्यापारीहरू पाटनमै पुगेर यार्सा संकलकहरूबाट यार्सा खरिद गर्ने भएकाले बजारको समस्या छैन। पाटनमा टिपेको यार्सा उतै बेचेर घरमा पैसा ल्याउने गर्दछन्।
यसपटक पाटनमा यार्सा व्यापारीहरूले खाल्वा (ठूलो, राम्रो) यार्सालाई प्रतिबुटी ८०० र मध्यमलाई प्रतिबुटी ४५० सम्म मूल्य दिएका थिए। खाल्वा यार्सा एक केजी पुग्न ३२ सय वटा बुटी र मध्यम यार्सा एक केजी पुग्न ४ हजार देखि ४२ सयसम्म पुग्नु पर्दछ।
यार्सा बेचेर मह गाउँमा मात्र ४ करोड भन्दा बढी रकम भित्रिएको बताइन्छ ।गीर, पाँपु, छाइल, चिमात, दाउरा, सेरोग, कार्ती, किमीर, डोल्फु, पुअ, मुगु, ताखा, खारी गाउँमा पनि ५० लाखदेखि १ करोडसम्म रकम भित्रिएको स्थानीय छोर्तेन लामाले बताए।
हिमालको हीरा टिप्न सोचेजस्तो सजिलो नहुने मह गाउँका राप्के तामाङ बताउँछन्। हिउँ पानीसँग खेल्नुपर्ने, चिसोबाट बचेर भोक प्यासको प्रवाह नगरी अग्ला(अग्ला हिमाल र पाटनहरू चर्हानुपर्ने उनको भनाइ छ। उनका अनुसार पाटनमा बिरामी भए मर्नुबाहेक विकल्प रहँदैन। पाटनमा यार्सा लुटेराहरू बन्दुकसहित पुग्ने गरेको पनि उनले बताए।
प्रत्येक वर्ष पाटनमा हिउँ–पहिरोमा परेर, लेक लागेर र अन्य बिरामी भएर, लुटेरा र संकलकबीच झडप हुँदा कम्तीमा ५ जनाले ज्यान गुमाएको पाइन्छ। यो वर्षमात्र पाटनमा ५ जनाको मृत्यु भएको थियो।
यार्सा टिप्न पाटन प्रवेश शुल्कबाट मुगुम कार्मारोङ्ग गाउँपालिकामा ४५ लाख राजश्व उठेको अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए।
बर्सेनि पाटनहरूमा कोही न कोही यार्सा संकलनको मृत्यु हुने भएपछि यो वर्षबाट मृतकका परिवारको भरणपोषणमा सहयोग पुगोस् भनी गाउँपालिकाले प्रवेश शुल्क तिरेर यार्सा टिप्ने जाने संकलकहरूको ५ लाख बराबरको यार्सा दुर्घटना बिमा गरिदिएको छ।
संवाददाता । शनिबार, साउन १३, २०८० मा प्रकाशित