फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओक्युलस सोमबार राती लगभग ६ घण्टासम्म डाउन रहे । यसले थुप्रै प्रयोगकर्तालाई असहज तुल्यायो । बिहानबाट भने यी प्लेटफर्म पुनः काम गर्न थाले । यसलाई निकै ठूलो ग्लोबल आउटेज मानिएको छ । आखिर यी प्लेटफर्म यत्तिका घण्टासम्म किन डाउन भए, कम्पनीले यसबारे जानकारी दिएको छ ।डोमेन नेम सिस्टम (डीएनएस) का कारण फेसबुक डाउन भएको बताइएको छ । डीएनएसलाई इन्टरनेटको फोनबुक पनि भनिन्छ । यसमार्फत् जब प्रयोगकर्ताले कुनै होस्ट नेम जस्तै facebook.com लाई URL मा टाइप गर्छ तब डीएनएस यसको आइपी एड्रेसमा परिवर्तन हुन्छ ।
आइपी अड्रेस अर्थात् जहाँ साइट हुन्छ । यसबाहेक बीजीपी (ब्रोडर गेटवे प्रोटोकल) का कारण पनि यी प्लेटफर्ममा समस्या देखिएको बताइएको छ । बीजीपीमा आइपी अड्रेस र डीएनएस नेमसर्भरको रुट हुन्छ । यसलाई यसरी पनि बुझ्न सकिन्छ, यदि डीएनएस इन्टरनेटको फोनबुक हो भने बजिीपी यसको नेभिगेशन सिस्टम हो ।
यस्तै सोमबार राति ९ बजेदेखि विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक पुनः सुचारु भएका छन् । फेसबुकका मालिक मार्क जुकरबर्गले दिएको जानकारी अनुसार फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको र मंगलबार बिहानदेखि सञ्चालनमा आएको जानकारी दिएका हुन् । फेसबुकका प्रवक्ता एन्डी स्टोनले ट्विटर गर्दै सेवा सुचारु गर्न आफूहरू लागि परेको जनाएका थिए ।
यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ।सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको थियो ।
संवाददाता । मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित