काठमाडौं । क्षेत्रीय तनावलाई खतरनाक उत्कर्षमा पुऱ्याउँदै इरानले शनिबार राति इजरायली भूमितर्फ दर्जनौं ड्रोन र ब्यालिस्टिक मिसाइलमार्फत प्रत्यक्ष सैन्य हमला गरेको छ । सिरियास्थित आफ्नो वाणिज्य दूतावासमा भएको घातक हमलाको बदलास्वरूप यो कारबाही गरिएको इरानले घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार, इरानी भूमिबाट प्रहार गरिएका विस्फोटक ड्रोन र मिसाइलहरू इजरायली आकाशतर्फ अघि बढेपछि इजरायली रक्षा बलले देशभर उच्च सतर्कता अपनाएको छ । इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले एक टेलिभिजन सन्देशमार्फत इरानबाट इजरायलतर्फ सिधा आक्रमण सुरु भएको पुष्टि गरेका छन् ।
इजरायलको उत्तरदेखि दक्षिणसम्मका अधिकांश सहर र बस्तीहरूमा खतराको साइरन बजाइएको छ । सेनाले सर्वसाधारणलाई सुरक्षित आश्रयस्थलमा जान र अर्को सूचना जारी नभएसम्म त्यहीँ रहन निर्देशन दिएको छ । टाइम्स अफ इजरायलका अनुसार, जेरुसेलम, तेल अभिभ र अन्य प्रमुख सहरहरूमा समेत साइरनको आवाज सुनिएको थियो ।

इजरायली सेनाले आफ्नो बहु(स्तरीय हवाई प्रतिरक्षा प्रणाली ९एयर डिफेन्स सिस्टम० पूर्ण रूपमा सक्रिय रहेको र अधिकांश ड्रोन तथा मिसाइलहरूलाई इजरायली आकाशमा प्रवेश गर्नुअघि नै सफलतापूर्वक रोकेको दाबी गरेको छ । सेनाले भनेको छ, ‘खतरा अझै टरेको छैन, हाम्रो प्रतिरक्षा प्रणालीले निरन्तर काम गरिरहेको छ ।’
यस आक्रमणको जिम्मेवारी लिँदै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले एक विज्ञप्ति जारी गरी यसलाई ‘साँचो प्रतिज्ञा’ नामक कारबाहीको संज्ञा दिएको छ । गत अप्रिल १ मा दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको हवाई हमलामा आफ्ना दुई वरिष्ठ कमान्डरसहित १३ जनाको मृत्यु भएपछि इरानले इजरायललाई दण्ड दिने वाचा गरेको थियो । उक्त हमला इजरायलले गराएको इरानको आरोप छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानले ‘सिङ्गो र पूर्ण युद्धविरामका निम्ति सहमति जनाएको’ दाबीबीच इरानले मिसाइल प्रहार गरेको हो । यसअघि इरानले आफ्ना परमाणु केन्द्रहरूमा सप्ताहान्तमा अमेरिकी आक्रमण भएका बदलामा कतारस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गरेको थियो ।
संवाददाता । मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित