इरानले आफ्ना आणविक केन्द्रहरूमा भएको अमेरिकी हमलाको प्रतिकार स्वरूप सोमबार राति कतार र इराकस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीका अनुसार कतारले अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डामाथि आक्रमण भएको पुष्टि गरेको छ। यो हमलाबाट मानवीय क्षति भएको रिपोर्ट अहिलेसम्म प्राप्त भएको छैन।
कतारले इरानको यो हमलालाई आफ्नो सार्वभौमिकता उल्लंघन भनेको छ। आवश्यक परे यसको जबाफ दिने अधिकार आफूसँग सुरक्षित रहेको उसले जनाएको छ।

इरानको मिसाइल आक्रमणपछि कतारले अस्थायी रूपमा हवाई क्षेत्र बन्द गर्नुका साथै आफ्नो भूमिमा रहेका अमेरिकी तथा बेलायती नागरिकलाई सुरक्षित स्थानमा बस्न सल्लाह दिएको छ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही बेरमा राष्ट्रिय सुरक्षा परिषदको बैठकमा सहभागी हुँदै छन्।
संवाददाता । सोमबार, असार ०९, २०८२ मा प्रकाशित