सुर्खेत । कर्णालीमा जीवन बीमाको योगदान ४ प्रतिशत मात्र रहेकाे नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । प्राधिरणको २०८० जेठसम्मको तथाङ्क अनुसार करिब १७ लाख जनसंख्या रहेको कर्णालीमा २ लाख १७ हजार ६ सय ५० जनाले मात्र जीवन बीमा गरेको नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारीले जानकारी दिए ।
उनका अनुसार कर्णालीमा साबधि जीवन बीमा गर्नेको संख्या ६५ हजार ६ सय ७२, अग्रिम भुक्तानी साबधिक जीवन बीमा गर्नेको संख्या १९ हजार ८ सय ३७, रुपान्तरित साबधिक जीवन बीमा गर्नेको संख्या १२ हजार १ सय १९, बालबच्चा सम्बन्धि बीमा गर्नेको संख्या ६० हजार ८ सय ६, आजीवन जीवन बीमा गर्नेको संख्या ८ हजार २ सय ८२, एकल बीमाशुल्क जीवन बीमा गर्नेको संख्या १ हजार ४ सय ४०, म्यादी जीवन बीमा ६ हजार ४ सय १४ र लघु जीवन बीमा गर्नेको संख्या ४३ हजार ८० रहेको छ ।
कर्णालीमा बिभिनन जिल्लाहरुमा जीवन बीमाका ५५ शाखा र ५५ उपशाखा गरेर ११० वटा कार्यालयहरु रहेका छन् । अन्य प्रदेशको तुलनामा कर्णालीका कम प्रतिशत नागरिकसम्म मात्र बीमा पहुच पुगेको देखिन्छ । कर्णालीमा जम्मा ४ प्रतिशच नागरिकमा मात्र जीवन बीमाको पहुच पुग्दा सबैभन्दा धेरै बाग्मती प्रदेशका ४४ दशमलब ९ प्रतिशत नागरिक बीमाको पहुचमा छन् । यस्तै गण्डकी र लुम्बिनी प्रदेशका समान १४ दशमलब ७ प्रतिशत, कोशी प्रदेशका १२ दशमलब १ प्रतिशत, र सुदुरपश्चिम प्रदेशका ५ दशमलब १ प्रतिशत नागरिकसम्म जीवन बीमाको पहुच पुगेको छ ।
यस्तै कर्णाली प्रदेशमा निर्जीवन बीमा गर्नेको संख्या पनि अन्य प्रदेशको तुलनामा निकै कम रहेको छ । २०८० जेष्ठ मसान्तसम्मको तथाङ्क अनुसार कर्णालीका निर्जीवन बीमा गर्नेको संख्या १ दशमलब ४ प्रतिशत मात्र रहेको छ । यो संख्या अन्य प्रदेशको तुलनामा सबैभन्दा कम हो ।
नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारीका अनुसार अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा बीमाको पहुच कम हुनुमा जनचेतनाको कमी, बीमा नीति तथा कानुन नहुनु, भौगोलिक कठिनाई, वित्तिय शिक्षाको अभाव, बेरोजगारी तथा न्यून आयस्तर, वित्तिय क्षेत्रमा काम गर्ने संस्थाको न्यून उपस्थिती र वित्तिय क्षेत्रमा काम गर्ने संस्थाहरुमा आपसमा समन्वयको अभाव रहेको बताएका छन् । कर्णाली प्रदेशमा जीवन बीमा तथा निर्जीवन बीमाको पहुच धेरैभन्दा धेरै नागरिकसम्म पु¥याउन विभिन्न अन्तरक्रिया तथा नागरिक सचेतना कार्यक्रमहरु गरिरहेको पनि उनको भनाइ छ ।
जगत सापकोटा । शुक्रबार, साउन १९, २०८० मा प्रकाशित